मुख्य सामग्रीमा जानुहोस्

भीमफेदी ईभी दुर्घटना : चालकको थकान र आरामको कमी मुख्य सम्भावित कारण भएको प्रतिवेदन सार्वजनिक

मकवानपुरको भीमफेदीमा २६ कात्तिकमा भएको विद्युतीय गाडी दुर्घटनामा १४ जनाको ज्यान गएको थियो। छानबिन समितिको प्रतिवेदनले चालकको थकानलाई पहिलो सम्भावित कारण मान्दै सवारी धनी र यातायात व्यवसायीको जिम्मेवारीमाथि प्रश्न उठाएको…

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
भीमफेदी ईभी दुर्घटना : चालकको थकान र आरामको कमी मुख्य सम्भावित कारण भएको प्रतिवेदन सार्वजनिक
Online Khabar

मकवानपुरको भीमफेदीमा २६ कात्तिकमा भएको विद्युतीय यात्रुवाहक गाडी दुर्घटनाबारे तयार भएको छानबिन प्रतिवेदनले चालकको थकान र पर्याप्त आराम नपाउनुलाई दुर्घटनाको सबैभन्दा सम्भावित कारणका रूपमा देखाएको छ। सो घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको उक्त गाडी सडकबाट करिब पाँच सयदेखि सात सय मिटर तल खसेको प्रतिवेदनमा उल्लेख छ। घटनापछि बसेको मकवानपुर जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाइसकेको छ।

दुर्घटनाका बेला चालकको शारीरिक तथा मानसिक अवस्था, उनले यसअघि गरेका यात्रा र आरामको पर्याप्ततालाई प्रतिवेदनले प्रमुख सम्भावित कारणमा राखेको छ। सवारी धनीको बयानमा आधारित विवरणअनुसार दुर्घटनामा परेका चालक लगातार लामो समय सवारी चलाइरहेका थिए।

२४ कात्तिक बिहान ५ बजे काठमाडौंबाट हिँडेका उनी दिउँसो १ बजे मलंगवा पुगेका थिए भने सोही दिन साँझ ७ बजे काठमाडौंतर्फ फर्केर राति २ बजे राजधानी पुगेका थिए। भोलिपल्ट बिहान साढे ७ बजे फेरि काठमाडौंबाट निस्केका चालक दिउँसो साढे २ बजे मलंगवा पुगे, साँझ ५ बजे काठमाडौंतर्फ लागे र २६ गते बिहान १ बजे काठमाडौं आइपुगे। त्यसको करिब एक घण्टापछि उनी सोही गाडी लिएर सर्लाहीतर्फ हिँडेका थिए र बिहान पौने ६ बजे गाडी दुर्घटनाग्रस्त भयो।

यसबाट कम्पनी वा सवारी धनीले एउटै चालकलाई अत्यधिक श्रममा लगाएको देखिने प्रतिवेदनको ठहर छ। चालकलाई पर्याप्त विश्रामको व्यवस्था गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै प्रतिवेदनले यातायात व्यवसायी र सवारी धनीको भूमिकामाथि प्रश्न उठाएको छ।

सडकमा अवरोध थिएन

दुर्घटनास्थलको स्थलगत अवलोकनअनुसार सडकको सो स्थानमा केही उकालो लागेपछि घुम्ती थियो। तर घुम्तीमा पुग्नुअघि नै गाडी जंगलतर्फ गएको देखिन्छ। घटनास्थलमा सडक ६ मिटर कालोपत्रे र १० मिटरभन्दा बढी सोल्डरसहितको थियो, जसले कालोपत्रे सडकभित्रै दुईतर्फी सवारी गुडाउन सकिने अवस्था देखाउँछ। सडक किनारमा करिब १० वटा साना गाडी पार्किङ गर्न मिल्ने ठाउँ र नजिकै केही होटल पनि रहेको अवलोकन गरिएको छ।

सडक साँघुरो भएकै कारण दुर्घटना भएको भन्न नमिल्ने समितिको निष्कर्ष छ। गाडीले घुम्तीको दिशा नपछ्याई सिधै सडकबाहिर गएको तथ्यबाट दुर्घटनाअघि नै चालकले सवारीमाथिको नियन्त्रण गुमाएको प्रतिवेदनमा उल्लेख छ। सडकको भौगोलिक बनावट, घुम्ती, ढकान, चौडाइ र किनारा हेर्दा भने यो खण्ड सवारी सञ्चालनका लागि जोखिमयुक्त प्रकृतिको देखिन्छ। सो सडक कुलेखानी जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री र उपकरण ढुवानी गर्न बनाइएको हो, जहाँ अहिले सार्वजनिक यातायातका साधन पनि चलिरहेका छन्।

११ सिट क्षमताको गाडीमा २० यात्रु

दुर्घटनाग्रस्त गाडीमा चालकसहित २० जना थिए, तर ब्लुबुकमा भने यात्रु क्षमता ११ मात्र उल्लेख छ। यसले क्षमताभन्दा बढी यात्रु राखिएको पुष्टि गर्छ। बढी भारले सवारीको सन्तुलन, कुल भार र ब्रेकिङ क्षमतामा असर पर्ने भए पनि दुर्घटनाको कारण बढी भार नै हो भन्ने निष्कर्ष भने प्रतिवेदनले निकालेको छैन।

यात्रुहरू सुतिरहेका र गाडी सडकबाट खसेपछि मात्र केहीलाई थाहा भएको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि उनीहरू सडकमा आएर प्रहरीलाई घटनाको जानकारी दिएका थिए।

ईभी सञ्चालनसम्बन्धी ज्ञान र तालिमको कमी

विद्युतीय सवारीको विशेषता, सञ्चालन प्रणाली, प्राविधिक क्षमता र सुरक्षा सावधानीबारे चालकलाई पर्याप्त जानकारी तथा तालिम नभएको विषय पनि प्रतिवेदनले उठाएको छ। यस्ता सवारीमा प्रयोग हुने उपकरणका सूचना र चेतावनी अंग्रेजी भाषामा मात्र उपलब्ध हुँदा सबै चालकले बुझ्न नसक्ने अवस्था रहेको देखिन्छ।

लामो यात्रामा चल्ने ईभी नेपालजस्तो पहाडी भूभागमा सञ्चालन गर्न मिल्ने वा नमिल्नेबारे सम्बन्धित निकायले विस्तृत अध्ययन गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ। ब्रेकिङ प्रणाली, ब्याट्री व्यवस्थापन, भारवहन क्षमता, चेतावनी संकेत र आपत्कालीन अवस्थाको व्यवस्थापनबारे चालकलाई व्यावहारिक तालिम दिनुपर्ने र सूचना नेपालीमा पनि उपलब्ध गराउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ।

कागजात पूरा, नियमनमा प्रश्न

दुर्घटनामा परेको गाडीको रुट, रुट परमिटको वैधता, सवारी सञ्चालन अनुमति र स्वीकृत सेवा प्रकृतिसम्बन्धी कागजात भने उपलब्ध रहेको पाइएको छ। तर सवारी सञ्चालन व्यवस्थापनमा सवारी धनी, यातायात व्यवसायी र नियमनकारी निकायको भूमिका रहने भन्दै प्रतिवेदनले एकै दिनमा कति पटक सोही मार्गमा सवारी चलाउन पाइने, एउटै चालकले कति समय सवारी चलाउन मिल्ने, पहाडी सडकमा कुन प्रकृतिका सवारीलाई अनुमति दिने र सार्वजनिक सवारीको यात्रु संकलन तथा बुकिङको मापदण्ड के हुने भन्नेबारे गहन अध्ययन आवश्यक रहेको औँल्याएको छ।

सडक सुरक्षा र गति नियन्त्रणका लागि लागु गरिएको टाइम कार्ड प्रणालीले निश्चित स्थानबीचको आवागमन समय अनुगमन गर्न सघाउ पुर्‍याए पनि चालकको कार्यअवधि, आरामको अवस्था, सवारीको प्राविधिक अवस्था र यात्रु क्षमताको पालना सुनिश्चित गर्न भने नसक्ने प्रतिवेदनको भनाइ छ। त्यसैले यसलाई चालकको कार्यावधि, सवारीको अवस्था, यात्रु संख्या र जोखिमयुक्त सडकखण्डको नियमित अनुगमनसँग जोड्नुपर्ने सुझाव दिइएको छ।

प्रतिवेदनले चालकको लगातारको कार्यावधि, सडकको घुम्ती र भौगोलिक बनावट, रातको दृश्यता, सडक सुरक्षा संकेत तथा सुरक्षात्मक संरचनाको पर्याप्तता र ईभी सञ्चालनसम्बन्धी चालकको ज्ञानलाई सम्भावित कारण तथा जोखिमका रूपमा लिएको छ। यी पक्षलाई अन्तिम तथा प्रमाणित कारण नभई अध्ययनका क्रममा प्राप्त तथ्य, विवरण र सरोकारवालाको भनाइबाट देखिएका सम्भावित कारणका रूपमा लिइएको समितिले जनाएको छ।

दुर्घटना न्यूनीकरणका सुझाव

  • जोखिमयुक्त सडकको सुरक्षा परीक्षण तथा सुधार

  • जोखिमयुक्त स्थानमा गति नियन्त्रण तथा अनुगमन

  • चालकको विश्राम र कार्यावधि सुनिश्चित गर्ने

  • यात्रु क्षमता नियमन तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने

  • चालकको क्षमता अभिवृद्धि

  • विद्युतीय सवारीसाधनका लागि विशेष सुरक्षा मापदण्ड विकास गर्ने