सन् २००१ मा १६ वर्षको उमेरमा ऋण काढेर यूएई पुगेका म्याग्दीका प्रकाश कार्कीले पहिलो जागिर पाएका थिए– प्रसाधन सामग्री उत्पादन गर्ने एउटा कम्पनीमा सरसफाइकर्मीको। मासिक ५०० दिराम तलब र कम्पनीले नै उपलब्ध गराइदिने खानेबस्ने सुविधा उनको त्यो पहिलो कमाइ थियो। करिब दुई दशकपछि त्यही व्यक्ति यूएई, इराक र पाकिस्तानमा कस्मेटिक्स तथा व्यक्तिगत स्याहारका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै छन् र उनका कम्पनीका उत्पादन ८० भन्दा बढी देशमा पुग्ने गरेका छन्।
म्याग्दीको राखुमा जन्मिएका कार्कीको बाल्यकाल सहज थिएन। परिवारको आर्थिक अवस्था कमजोर थियो; न उच्च शिक्षा थियो, न लगाउन सक्ने पुँजी। पढाइलाई निरन्तरता दिनुभन्दा काम गरेर घरलाई सघाउनु उनका लागि तत्कालको आवश्यकता बन्यो। बुबाले यूएई जाने प्रक्रिया मिलाइदिए, एउटा कस्मेटिक्स कम्पनीले भिसाका लागि सिफारिस गर्यो। विदेशिन करिब ५० हजार रुपैयाँ खर्च भयो– केही रकम बुबाले जुटाए, बाँकी आफन्तसँग ऋण लिएर पूरा गरियो।
सरसफाइबाट व्यवस्थापनसम्म
यूएई पुगेपछि उनको दैनिकी कार्यालय सफा गर्ने, सामान ओसार्ने र अह्राइएका काम टुंग्याउनेमा बित्थ्यो। नयाँ देश, नयाँ भाषा र नयाँ कामसँग अभ्यस्त हुन उनलाई सहज थिएन। तर उनले आफूलाई सरसफाइकै काममा सीमित राखेनन्– कस्मेटिक्स कसरी बन्छ, उत्पादन बजारसम्म कसरी पुग्छ, कम्पनी कसरी चल्छ र व्यावसायिक निर्णय कसरी लिइन्छ भन्ने बुझ्न थाले।
जिम्मेवारी समयमै पूरा गर्ने, कामप्रति इमानदार देखिने र सिक्न तत्पर रहने उनको बानीले कम्पनीभित्र थप जिम्मेवारी पाउने ढोका खोल्यो। पाँच वर्ष नबित्दै उनले त्यही कम्पनीको महाप्रबन्धकको जिम्मेवारी सम्हाले। कर्मचारी व्यवस्थापनदेखि बजारको अवस्था बुझ्ने र सञ्चालनका निर्णयसम्मको भार उनको काँधमा आयो। उत्पादनदेखि बिक्रीसम्मको प्रक्रिया, ग्राहकको आवश्यकता, प्रतिस्पर्धा र गुणस्तरबारेको अनुभव उनले त्यही अवधिमा बटुले।
कम्पनीका मालिक इरानी नागरिक थिए। कार्कीका अनुसार ती मालिकले उनलाई आफ्नै छोरासरह व्यवहार गर्थे र पछि आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गर्दा पनि हात बढाए। करिब सात वर्ष त्यही कम्पनीमा बिताएका उनका लागि त्यो अवधि तलब कमाउने समय मात्र नभई आफ्नै उद्यमका लागि ज्ञान, अनुभव र सम्पर्क जोड्ने अवसर पनि बन्यो।
आफ्नै उद्योगतर्फ
महाप्रबन्धकसम्मको जिम्मेवारी सम्हालेपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे। ठूलो पुँजी थिएन; उत्पादन सुरु गर्ने, ग्राहक खोज्ने, साझेदार जुटाउने र अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउने चुनौती एकैपटक आए। पहिले काम गरेको कम्पनीका मालिकले सम्भावित साझेदार तथा लगानीकर्तासँग सम्पर्क जोडिदिएपछि उनले सीमित लगानीबाट यात्रा अघि बढाए।
पहिले नै कस्मेटिक्स क्षेत्रमा काम गरेको अनुभव भएकाले उनले त्यही क्षेत्र रोजे। सुरुमा सामान किनेर बेच्ने व्यापारबाट थालिएको उनको कारोबार क्रमशः उत्पादनमै संलग्न हुने उद्यमतर्फ मोडियो। उनका अनुसार ‘फ्युचर ट्रेन्ड्स कस्मेटिक्स म्यानुफ्याक्चरिङ’बाट सुरु भएको व्यवसाय ‘ट्रेन्ड्स फर ब्युटी एन्ड पर्सनल केयर रिक्विजिट्स म्यानुफ्याक्चरिङ’, ‘अल हीरा जनरल ट्रेडिङ’ र ‘न्यू ट्रेन्ड्स इन्टरनेसनल’सम्म विस्तार भएको छ। ती कम्पनीमार्फत आफ्नै उत्पादन बिक्री गर्ने र ग्राहक तथा अन्य व्यवसायीका ब्रान्डमा पनि सामग्री उत्पादन गर्ने काम भइरहेको छ।
८० देशमा उत्पादन
कार्कीका अनुसार उनको कम्पनीका उत्पादन ८० भन्दा बढी देशमा आपूर्ति हुन्छन् भने करिब ४० देशमा आफ्नै वितरण संरचना छ। व्यवसायको मुख्य आधार यूएई रहेको उनको भनाइ छ; यूएईबाहेक पाकिस्तान र इराकमा पनि उनले उत्पादनसम्बन्धी उद्योग सञ्चालन गरिरहेका छन्। विभिन्न देशका साझेदार तथा वितरकमार्फत कारोबार विस्तार हुँदै गएको छ।
उत्पादन बजारसम्म पुर्याउनु मात्रले कस्मेटिक्स व्यवसाय टिकाउँदैन भन्ने उनको ठहर छ। प्रयोग हुने सामग्रीको गुणस्तर, उत्पादन प्रक्रिया र उपभोक्ताको सुरक्षालाई उनी व्यवसायको जग मान्छन्। सस्तो मूल्यमा बिक्री गर्ने प्रतिस्पर्धामा मात्र केन्द्रित हुँदा दीर्घकालमा ग्राहकको भरोसा गुम्न सक्ने उनी बताउँछन्।
व्यवसाय विस्तारकै क्रममा उनले जोखिम पनि उठाएका छन्। कतिपय योजनामा गरेको लगानीले अपेक्षित प्रतिफल दिएन, बजारमा उत्पादनले चाहेजति स्थान पाएन र खर्च बढ्दै गयो। ठूलो लगानीमा थालिएका योजना असफल हुँदा आर्थिक क्षति व्यहोर्नुपरेको अनुभव पनि उनीसँग छ। ती घाटाले बजारको अध्ययन, योजनाबद्ध लगानी र सम्भावित जोखिमको मूल्याङ्कन कति आवश्यक हुन्छ भन्ने सिकाएको उनी बताउँछन्।
सिमरामा उद्योगको योजना
यूएईमा झन्डै २५ वर्ष बिताइसकेका कार्कीले नेपालमा पनि प्रसाधन सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने लक्ष्य राखेका छन्। सिमरामा कस्मेटिक्स उत्पादनसम्बन्धी उद्योग निर्माणको काम अघि बढिरहेको उनले बताएका छन्। नेपालमै उत्पादन गर्न सके स्थानीय माग पूरा गर्न सहज हुने, रोजगारी सिर्जना हुने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने उनको अपेक्षा छ।
तर उद्योग सञ्चालनका लागि लगानीमैत्री वातावरण, सहज प्रशासनिक प्रक्रिया र स्थिर नीति आवश्यक रहेको उनी बताउँछन्। विदेशमा व्यवसाय गर्दा आफूले भोगेको व्यवस्थापन र प्रक्रियागत सहजताबाट नेपालले पनि सिक्न सक्ने उनको धारणा छ।
परदेशमा नेपालीको पहिचानबारे बोल्दा उनी कामदारका रूपमा मात्र नभई व्यवसायी र लगानीकर्ताका रूपमा पनि नेपाली अघि बढिरहेको बताउँछन्। नेपालीमा क्षमता र मेहनतको कमी नभए पनि सीप, अनुभव र परिश्रमलाई व्यावसायिक योजनासँग जोड्न सक्नुपर्ने उनको भनाइ छ। सरसफाइको कामबाट सुरु गरेर व्यवस्थापनको जिम्मेवारी हुँदै आफ्नै उद्योगसम्म पुगेको आफ्नो यात्राले अरूलाई पनि सम्भावना देखाउने उनको विश्वास छ।







