मुख्य सामग्रीमा जानुहोस्

घरेलु क्रिकेट संरचना बलियो बनाउन एनपीएलको आम्दानी लगानी गर्न कटुवालको सुझाव

नेपाल प्रिमियर लिग (एनपीएल) बाट हुने आम्दानीको केही अंश घरेलु क्रिकेट विकासमा खर्च गर्न सकिने प्रशिक्षक मनोज कटुवालको भनाइ छ । उनले तल्लो तहको संरचना बलियो नभएसम्म राष्ट्रिय टोली पनि बलियो हुन नसक्ने बताएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
घरेलु क्रिकेट संरचना बलियो बनाउन एनपीएलको आम्दानी लगानी गर्न कटुवालको सुझाव
Online Khabar

काठमाडौं, ८ मंसिर । पूर्व राष्ट्रिय क्रिकेटर तथा प्रशिक्षक मनोज कटुवालले नेपाल प्रिमियर लिग (एनपीएल) बाट जुट्ने आम्दानीको केही हिस्सा घरेलु क्रिकेट संरचना बलियो पार्न लगानी गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो सुझाव दिएका हुन् ।

महिला क्रिकेट, ग्रासरुट तथा उमेर समूहका प्रतियोगिता सञ्चालनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियाली क्रिकेट परिषद् (एसीसी) को बजेटमा निर्भर रहनुपर्ने अवस्था अब अन्त्य हुनुपर्ने उनको भनाइ छ । नेपाल क्रिकेट संघ (क्यान) सँग एनपीएलको आम्दानीबाट यी क्षेत्रमा लगानी गर्ने विकल्प रहेको उनले उल्लेख गरेका छन् ।

एनपीएल सफल भइसकेको भन्दै कटुवालले अब त्यसभन्दा तल्लो तहको घरेलु संरचनालाई पनि उत्तिकै बलियो र सफल बनाउने बेला आएको बताएका छन् । बलियो घरेलु संरचनाविना बलियो राष्ट्रिय टोलीको परिकल्पना गर्न नसकिने उनको तर्क छ ।

त्यसका लागि महिला क्रिकेट, ग्रासरुट, यू–१६ र यू–१९ का प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । सातै प्रदेशमा घरेलु मैदान निर्माणको काम अघि बढिरहेकाले सबै प्रदेशमा उच्च प्रदर्शन केन्द्र (हाई पर्फमेन्स सेन्टर) स्थापना गर्न ढिलाइ नगर्न पनि उनले सुझाएका छन् ।

महिला राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षकसमेत रहेका कटुवालले घरेलु क्रिकेटको आधार सुदृढ गर्न क्यानले एनपीएलबाट हुने आम्दानी र आफ्नो बजेटको केही अंश छुट्याउन सक्ने बताएका छन् ।