सरकारी कार्यालयमा करारमा काम गरिरहेका कर्मचारीहरूको जागिर तत्कालका लागि सुरक्षित भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार करार अवधि आगामी तीन महिनासम्म थप गरिएको छ भने उनीहरूको व्यवस्थापनका लागि कार्यदल बनाइएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले असार मसान्तमा सकिएको करार अवधि १ साउनदेखि थप गरिएको जानकारी दिए। उनका अनुसार अर्को निर्णय नभएसम्म करारका कर्मचारीले जागिर गुमाउनु पर्दैन। बिहीबारको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गरेको हो।
कार्यदलले पढाइ गर्ने सात विषय
सामान्य प्रशासन मन्त्रालयले करार कर्मचारीको तत्कालिन व्यवस्थापनका लागि सातवटा विषय समेटिएको प्रस्ताव अर्थ मन्त्रालयको स्वीकृतिपछि मन्त्रिपरिषद्मा लगेको थियो। सचिव भुजेलले दरवन्दी कटौतीमा परेका करारका कर्मचारीलाई अन्य मन्त्रालय वा नयाँ ठाउँमा सकेसम्म व्यवस्थापन गरिने बताए। तर, ५८ वर्ष उमेर पूरा गरेका वा अन्यत्रबाट सेवा सुविधा प्राप्त गरिरहेकालाई भने बिदा गरिने तयारी छ।
करार कर्मचारीको सेवा, शर्त, बिदा, सामाजिक सुरक्षालगायत विषयमा कार्यदलले अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउने छ। सरकारले निजी क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गरिरहेका बेला सरकारी निकायमा करारमा कार्यरत कर्मचारी त्यसको दायरामा परेका छैनन्। कार्यदलले यसबारे पनि अध्ययन गर्ने मन्त्रालय स्रोतले जनाएको छ।
करार कर्मचारीको आन्दोलन र वार्ता
सरकारले श्रेणीविहीन सहयोगी कर्मचारी करारमा राख्ने हालको ढाँचामा परिवर्तन गर्ने तयारी थालेपछि करारका कर्मचारी आन्दोलित भएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको एक कार्यदलले सहयोगी सेवा तथा प्राविधिक सेवाका लागि पब्लिक कम्पनी वा आउटसोर्सिङबाट कर्मचारी लिन सकिने प्रस्ताव गरेपछि हजारौं करार कर्मचारीले आफ्नो जागिर असुरक्षित ठानेर विरोध गरेका थिए।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र करार कर्मचारीबीच बुधबार भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेको थियो, जसपछि कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका थिए। अस्थायी, करार, ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष श्याम सापकोटाले मन्त्रिपरिषद्को निर्णयबारे विस्तृत जानकारी पाएपछि मात्रै थप निर्णयमा पुग्ने बताए। उनले भने, “त्यसलाई सकारात्मक रूपमा लिएका छौं, तर विस्तृत जानकारी हेरेपछि मात्रै अघि बढ्न सकिन्छ।”

