कपिलवस्तु — प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालतले प्रहरीको माग स्वीकृत गरेपछि बिहीबार पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रहरीले यी दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अदालतमा निवेदन दिएको थियो । कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)ले मंगलबार प्रहरीमा दिएको जाहेरीका आधारमा यो पक्राउ पुर्जी जारी गरिएको हो । अभिषेकप्रताप शाह कपिलवस्तु–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
उता, सीताराम शर्माविरुद्ध पनि आपराधिक उपद्रवको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । कृष्णनगर–९, बहादुरगन्जका वैभवप्रताप शाहले शर्मालगायत सात जनाविरुद्ध उक्त अभियोगमा जाहेरी दिएका थिए । दुवै पक्षले बिहीबारै जाहेरी दर्ता गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख उपरिक्षक मनोहर भट्टले पक्राउ पुर्जी जारी भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । शाह र शर्मा समूहबीच आइतबार दुई स्थानमा झगडा र कुटपिट भएको थियो । यसै घटनालाई लिएर दुवैतर्फबाट जाहेरी परेको प्रहरीले जनाएको छ ।

