डिभिजन वन कार्यालय, बर्दियाले गत आर्थिक वर्षमा बारबर्दिया र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा आठ वटा पोखरी निर्माण गरेको छ। वन्यजन्तुलाई पानीको अभाव नहोस् भन्ने उद्देश्यले वनमा ‘खोदाउताल’ निर्माण गरिएको हो।
बारबर्दिया नगरपालिका–९ स्थित जनकल्याण सामुदायिक वनका अध्यक्ष देबेन्द्रबहादुर थापाले गर्मीयाममा वनका पानीका स्रोत सुक्ने भएकाले वन्यजन्तु पानीको खोजीमा वनक्षेत्र बाहिर निस्किने गरेको बताए। उनले भने, “पोखरी निर्माणपछि वन्यजन्तु पानीको खोजीमा बाहिर निस्कनुपर्ने बाध्यता हटेको छ, जसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मद्दत पुगेको छ।”
जनकल्याण सामुदायिक वनका सदस्य हरिबहादुर खड्काका अनुसार पोखरी निर्माणले वन्यजन्तुलाई बासस्थान छोड्नबाट रोकेको छ र विभिन्न प्रजातिका चराचुरुङ्गीको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ।
वातावरणीय लाभ र ढुकुटी
डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले यी पोखरीलाई ‘वाटर स्टोरेज’ को रूपमा परिभाषित गर्दै वर्षाको पानी संकलन गरी पुनर्भरण हुने बताए। उनले भने, “पोखरीमा पानी संचित भएपछि वन्यजन्तुलाई पानी उपलब्ध हुन्छ, वनमा डढेलो लाग्दा निभाउन मद्दत पुग्छ र वनक्षेत्र हराभरा रहन्छ।”
आर्थिक वर्ष ०८२/८३ मा ३७ लाख ७४ हजार रुपैयाँको लागतमा आठ वटा सामुदायिक वन उपभोक्ता समूहमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए।
पोखरी निर्माण हुने सामुदायिक वनहरूमा जनकल्याण, बैदा, पेरहवा, भैरव, बुक्की हरियाली, तिलकाना, बग्दैला र पेरौहुवा चटिया रहेका छन्। यी वन बारबर्दिया नगरपालिका, बढैयाताल गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा पर्दछन्।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा थप प्रयास
पोखरी निर्माणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र अतिक्रमण रोक्न ४० किलोमिटर तारबार गरिएको सूचना अधिकारी केसीले बताए। यस्तै, जनकल्याण सामुदायिक वनमा १ हजार ४ सय मिटर मेस वायर र ५ सय मिटर काँडेतार पनि लगाइएको अध्यक्ष थापाले जनाए।
पोखरी निर्माण तथा अन्य संरचनाले वन्यजन्तुको बासस्थान संरक्षण गर्न र मानव–वन्यजन्तु बीचको द्वन्द्व घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

