मुख्य सामग्रीमा जानुहोस्

बर्दियामा ९० प्रतिशत धान रोपाइँ, कर्णाली सिँचाइले राजापुर–गेरुवामा शतप्रतिशत

बर्दियामा यस वर्ष करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कर्णाली सिँचाइ सुविधा भएका क्षेत्रमा भने पूरै रोपाइँ भइसकेको छ। केही क्षेत्रमा भने किसान आकाशे पानीको प्रतिक्षामा छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बर्दियामा ९० प्रतिशत धान रोपाइँ, कर्णाली सिँचाइले राजापुर–गेरुवामा शतप्रतिशत

बर्दिया — यस वर्ष मनसुनी वर्षा ढिलो र कमजोर भए पनि जिल्लामा करिब ९० प्रतिशत धान रोपाइँ भएको छ। कर्णाली नदीको सिँचाइ सुविधा भएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा भने करिब शतप्रतिशत रोपाइँ सकिएको छ।

कर्णाली सिँचाइले राजापुर–गेरुवामा पूर्ण रोपाइँ

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाका प्रमुख कमला अधिकारीका अनुसार राजापुर र गेरुवा क्षेत्रमा धान रोपाइँ पूर्ण रूपमा भइसकेको छ। कर्णाली नदीको सिँचाइ सुविधाले यहाँका किसानलाई वर्षाको भर पर्न नपर्ने भएकाले समयमै रोपाइँ गर्न सफल भएका हुन्।

उनले भनिन्, ‘त्यसबाहेक समग्रमा बर्दियामा पनि झन्डै ९० प्रतिशत क्षेत्रमा धान रोपाइँ भइसकेको छ। एक साताभित्र शतप्रतिशत रोपाइँ हुने अपेक्षा छ।’ बर्दियामा कुल ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

आकाशे पानीको भरमा अन्य क्षेत्र

गुलरिया, मधुवन, बासगढी, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकामा भने रोपाइँ ढिलो भएको छ। मनसुनी वर्षा सक्रिय हुन थालेपछि गुलरिया र बढैयातालमा अझै रोपाइँ जारी छ। गुलरिया–१० का किसान मिलन लोधले सिँचाइ सुविधा नहुँदा र पर्याप्त आकाशे पानी नपर्दा समयमा रोपाइँ हुन नसकेको बताए। उनले भने, ‘ब्याड उखाल्ने काम भइरहेको छ, पानी कहिले पर्ला भन्ने प्रतिक्षामा छौं।’ गुलरियाका ६, ७, ९, १० र ११ नम्बर वडाका किसान पनि पर्याप्त वर्षाको प्रतिक्षामा छन्।

बढैयाताल–२ का किसान धनबहादुर खत्रीले मनसुनी वर्षा नपुगेपछि शुक्रबारदेखि पम्पले जमिनमुनिको पानी निकालेर रोपाइँ सुरु गरेको जानकारी दिए। उनले गत वर्ष १५ असार अगावै रोपाइँ सकिएको स्मरण गरे।