मुख्य सामग्रीमा जानुहोस्

ताप्लेजुङको फुरुम्बुमा पहिरोले सडक, विद्युत र इन्टरनेट सेवा अवरुद्ध

शुक्रबार रातिको वर्षाले ताप्लेजुङको फुरुम्बुमा पहिरो गएको छ। जसले सडक, विद्युत र इन्टरनेट सेवा ठप्प बनाएको छ। सडक खुलाउन र विद्युत सेवा पुनः सञ्चालन गर्न मेसिनको आवश्यकता रहेको वडाध्यक्षले बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
ताप्लेजुङको फुरुम्बुमा पहिरोले सडक, विद्युत र इन्टरनेट सेवा अवरुद्ध

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा शुक्रबार रातिको वर्षाले गएको पहिरोले ग्रामीण सडक, विद्युत र इन्टरनेट सेवा अवरुद्ध बनाएको छ। वडाध्यक्ष सन्तोष लिम्बूले फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो गएको जानकारी दिएका छन्।

सडकभन्दा माथिबाट झरेको पहिरोले सुकेटारबाट हान्देवा, फुरुम्बु हुँदै लिंखिम जोड्ने सडक ठप्प भएको छ। त्यस्तै, आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने सडक पनि अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात पूर्णतः ठप्प छ।

पहिरोले विद्युतको पोल ढालेको छ। सोही पोलमा राखेर बिस्तार गरिएको इन्टरनेट सेवा पनि अवरुद्ध बनेको छ। ढलेको रुखले बिजुलीको खम्बा, प्रसारण लाइन र इन्टरनेटको तारमा क्षति पुर्याएको वडाध्यक्ष लिम्बूले बताए। फुरुम्बु क्षेत्रमा शुक्रबार रातिदेखि नै विद्युत सेवा ठप्प छ।

विद्युत अवरुद्ध हुँदा विद्युतीय सुविधाहरू समेत ठप्प भएका छन्। पुनः सञ्चालनका लागि प्रयास भइरहे पनि समय लाग्ने वडाध्यक्ष लिम्बूले बताए। सडक खुलाउन र विद्युत सेवा नियमित गर्न एक्स्काभेटर वा जेसिभी मेसिनको आवश्यकता रहेको उनको भनाइ छ। 'श्रमदान गाउँलेले गर्छौं, तर मान्छेले मात्रै पन्साउन नसकिने भएकाले मेसिन आवश्यक पर्ने भएको छ,' उनले भने।