काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले लिने निर्णयले जनतालाई लाभ नभई हानि गर्ने देखिएमा ती निर्णय परिवर्तन गरिने बताएका छन्। शुक्रबार रौतहट जिल्लाका विभिन्न पार्टीमा रहेका नेताहरूलाई रास्वपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सभापति लामिछानेले सरकारको नियत सही रहेको र काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताए। उनले भने, 'सरकारको नियतमा कुनै पनि शंका छैन। निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छन्। त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। हजारौं निर्णय गर्दा दुईचार वटा निर्णयलाई विवादमा ल्याउन सक्छ मान्छेले।'
उनले थपे, 'व्यावहारिक रुपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ त्यो निर्णयहरूले लाभ होइन हानि भएछ भने त्यस्ता निर्णयहरू परिवर्तन हुन्छन्।' सरकारले किसान, मजदुर र सर्वसाधारण जनताको पक्षमा काम गर्ने उनको भनाइ थियो। उदाहरण दिँदै उनले भने, 'सरकारले किसानका लागि भनेर गरेको निर्णय कार्यान्वयनमा जाँदा व्यावहारिक रूपमा विपक्षमा हुन गए परिवर्तन गरिनेछ।'
सभापति लामिछानेले सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पछि नहट्ने पनि बताए।
