मुख्य सामग्रीमा जानुहोस्

सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धिमा सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक र भ्रमण भत्ता वृद्धिको विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। उनले राष्ट्र बैंक ऐन संशोधनमा पनि सरकार लचिलो हुने स्पष्ट पारे।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि तथा भ्रमण भत्तालाई समयसापेक्ष बनाउन सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिकलगायतका सुविधाका विषयमा सरकार उदार रहेको उल्लेख गरे। उनले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्तालगायतका सुविधाहरूलाई आवश्यक विधि र प्रक्रिया पुर्‍याएर समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले भने, ‘हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौँ । फिल्ड भिजिट भत्ता जस्ता कुराहरु छन् त्यसलाई विधि पुर्‍याएर समयानुकुल बनाउनमा हामी नकारात्मक छैनौँ।’

यसैबीच, उनले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयहरूलाई स्वस्थ र विधिसम्मत छलफलमार्फत टुङ्ग्याउन सरकार तयार रहेको बताए। राष्ट्र बैंकको संरचना र पदाधिकारी नियुक्तिजस्ता विषयमा सरकार ‘रिजिड’ (कठोर) नहुने उनले स्पष्ट पारे।