काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाएका छन्। आइतबार ललितपुरमा आयोजित सन्तनेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए।
सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे। उनले जनताले दिएको म्यान्डेटभन्दा तीन दलीय सरकार बनाउनु फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार नगर्ने स्पष्ट पारे।
थापाले भने, “परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन। विगतका गल्ती दोहोर्याउँदैनौँ। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौं। सत्तालाई नै सबैथोक मान्ने सोचले नै विगतदेखि नेपाली राजनीतिलाई अस्थिर बनाएको छ।” उनले चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिले सरकार र प्रतिपक्षको भूमिका अन्योलपूर्ण बनाएको बताए।
थापाका अनुसार सत्ताकेन्द्रित राजनीतिले कांग्रेस मात्र होइन, सबै पुराना राजनीतिक दललाई क्षति पुर्याएको छ।
