सप्तरीको बलान बिहुल गाउँपालिका–५ स्थित रामनगरमा सञ्चालित रामनगर साना किसान कृषि सहकारी संस्थाको डेरीले शनिबार किसानको दूध खरिद गर्न अस्वीकार गरेपछि आक्रोशित किसानले डेरीकै अगाडि दूध पोखेर विरोध जनाएका छन् ।
सहकारीमा आबद्ध किसानले शुक्रबार पनि आग्रह गर्दा दूध खरिद गरिएपनि शनिबार किन्न नमानेको बताएका छन् । स्थानीय किसान महेन्द्र यादवले सहकारीबाट २ लाख रुपैयाँ ऋण लिएर तीन वटा गाई र एउटा भैंसी खरिद गरेको बताए । उनले दूध बिक्रीबाटै ऋण चुक्ता गर्दै परिवारको दैनिकी चलाउँदै आएको र अब दूध नबिक्दा समस्या हुने चिन्ता व्यक्त गरे ।
यादवले आफूहरूसँग दैनिक तीन सयदेखि चार सय लिटर दूध बिक्री गर्नुपर्ने बाध्यता रहेको र अन्यत्र दूध बेच्न संभव नभएकोले समस्या भएको उल्लेख गरे । किसानले सहकारीले दूध खरिद नगरे आफूहरूलाई ऋण तिर्न र परिवारको गुजारा चलाउन कठिन हुने भन्दै गम्भीर प्रतिक्रिया दिएका छन् ।







