बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भएर गुज्रने पूर्वपश्चिम महेन्द्र राजमार्गमा सवारी साधनको ठक्करबाट गत आर्थिक वर्षमा ३५ वन्यजन्तु मारिएका छन्। निकुञ्ज कार्यालयका अनुसार रम्मापुर चेक पोष्टदेखि चिसापानीसम्मको सडक खण्डमा भएका दुर्घटनामा यी वन्यजन्तुको ज्यान गएको हो।
मारिनेमा सबैभन्दा बढी १८ वटा चित्तल रहेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत महेश न्यौपानेले बताए। उनका अनुसार यस अवधिमा पाँच लंगुर, तीन बाँदर र एक चितुवासमेत ठक्करले मरेका छन्। यस्तै निर बिरालो, जरायो, सुन गोहोरो, रतुवा मृग, खरायो, न्याउरी मुसा, मयुर र जंगली बिरालो पनि दुर्घटनामा परेका छन्।
टाइम कार्ड लागु हुँदा पनि दुर्घटना किन ?
निकुञ्जले राजमार्ग हुँदै गुड्ने सवारी साधनका लागि टाइम कार्ड प्रणाली लागु गरेको छ, तर यसले वन्यजन्तु दुर्घटनामा कमी ल्याउन सकेको छैन। अधिकांश दुर्घटना रातिको समय हुने गरेको सूचना अधिकारी न्यौपानेले बताए। 'यसको मुख्य कारण दृश्यता कम हुनु हो, केही चालकले लापरवाही ढंगले सवारी चलाउँदा पनि दुर्घटना भइरहेको छ,' उनले भने।
हाल निकुञ्जको रम्मापुरदेखि शैनबारसम्मको १४ किलोमिटर सडक खण्ड र अर्मेनी–चिसापानी खण्डमा टाइम कार्ड लागु छ। सरकारी सवारी, मन्त्रीको सवारी र एम्बुलेन्स भने यस व्यवस्थाभन्दा बाहिर छन्।
निकुञ्जका पूर्ववार्डेन रमेशकुमार थापाले अर्मेनी–चिसापानी खण्ड घना जंगल भएकाले धेरै वन्यजन्तु ओहोरदोहोर गर्ने र दुर्घटनाको जोखिम बढी हुने बताए। 'यस खण्डमा अण्डरपास वा ओभरपास पुल बनाउन आवश्यक छ,' उनले भने।
अघिल्लो वर्षको तुलना
अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा यस्तै दुर्घटनामा ३० वन्यजन्तु मारिएका थिए। त्यस वर्ष १८ चित्तल र एक गैंडाको बच्चासहित ३० वन्यजन्तुको मृत्यु भएको निकुञ्जको तथ्यांक छ।
बर्दिया निकुञ्जमा पछिल्लो गणनाअनुसार १ सय २५ बाघ, ३६ गैंडा र करिब १ सय २० हात्ती रहेको अनुमान छ। दश वर्षअघि कुँवाभारमा बसको ठक्करले एउटा पाटे बाघ समेत मरेको थियो।






