पाँचथर र ताप्लेजुङको सीमामा अवस्थित तिम्बुङ पोखरी क्षेत्र यतिबेला दुर्लभ हिमाली वनस्पति केञ्जो (पदमचाल) ले सेताम्मे बनेको छ। करिब ४ हजार ३ सय मिटर उचाइमा पाइने यो वनस्पति फक्रिएसँगै तिम्बुङका हरिया चौर सेता फूलले ढाकिएका छन्। यसले पूर्वी नेपालको हिमाली पर्यटनमा नयाँ आकर्षण थपेको छ।
केञ्जो फुल्ने मौसम सुरु भएसँगै तिम्बुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। पाँचथरको याङवरक–२ मा पर्ने तिम्बुङ पोखरी आसपास केञ्जोको प्राकृतिक बगैचा पर्यटकको रोजाइमा पर्न थालेको छ। स्थानीयले यसलाई ‘केञ्जो गार्डेन’ नाम दिएका छन्। केञ्जोको चुच्चो आकार टाढाबाट हेर्दा हिमालमा उभिएको सेतो टावरजस्तै देखिने भएकाले यसलाई ‘हिमाली टावर’ पनि भनिन्छ।
यस मौसममा तिम्बुङ पुग्नेहरू फूलसँग तस्बिर खिच्ने, भिडियो बनाउने र हिमाली सौन्दर्यको आनन्द लिनेमा व्यस्त छन्। पर्यटन व्यवसायी अमिर राई भन्छन्,
‘केञ्जो अहिले तिम्बुङ क्षेत्रको सबैभन्दा ठूलो आकर्षण बनेको छ।’
उनका अनुसार यो छोटो मौसममा नेपालका विभिन्न जिल्लासँगै भारतको सिक्किमबाट पनि पर्यटक आउने गरेका छन्।
संरक्षणको चुनौती
तर केञ्जोको संरक्षण आवश्यक रहेको स्थानीय बताउँछन्। केही आगन्तुकले तस्बिर खिच्ने क्रममा बोट भाँच्ने वा उखेल्ने गरेकाले सचेत हुनुपर्ने स्थानीय गणेश राईको आग्रह छ। उनी भन्छन्,
‘प्राकृतिक सम्पदाको संरक्षण गर्न सके मात्रै यसको सौन्दर्य आगामी पुस्ताले पनि देख्न पाउनेछन्।’
केञ्जो विशेषगरी साउन–भदौ महिनामा फुल्ने गर्छ।
तिम्बुङ पुग्न पाँचथरको फालेलुङ–तीनसिमाना, फालौट, चिवाभञ्ज्याङ तथा फलैंचा–कालिखोला मार्ग प्रयोग गर्न सकिन्छ। पदयात्रीका लागि बाटोमा होमस्टे, गोठस्टे र होटलको सुविधा उपलब्ध छ। तर यस वर्ष मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम–फलैंचा खण्डमा बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएकाले यात्रा केही कठिन भएको छ। त्यसका बाबजुद नेपाल र सिक्किम दुवैतर्फबाट पर्यटकको आवागमन जारी रहेको स्थानीय बताउँछन्।

