रोल्पामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। मृतक परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोटका ५७ वर्षीय देउप्रसाद घर्ती रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुका अनुसार शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण शनिबार बिहान घर्ती हिँडिरहेको बेला पहिरोले पुरेको हो। पहिरोमा मानिस पुरिएको खबर शनिबार बिहान साढे ५ बजे इलाका प्रहरी कार्यालय पाछावाङमा पुगेको थियो।
खबर पाएलगत्तै प्रहरी नायब निरीक्षक नरसिंह खत्रीको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ७ बजेर २० मिनेटमा घटनास्थलमा पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय पाछावाङबाट करिब पाँच किलोमिटर उत्तर र सदरमुकाम लिबाङबाट करिब ६० किलोमिटर पश्चिममा रहेको छ।
शवको पहिचान भएपछि पोस्टमार्टमका लागि प्रहरीले पीडित परिवारलाई मद्दत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

