मुख्य सामग्रीमा जानुहोस्

एसियाली खेलकुदको तयारीः टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

राष्ट्रिय टेबलटेनिस च्याम्पियन संयोग कपाली र योङ्गी पौडेल सोलमा हुने एक महिने प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरू सन् १९८८ को ओलम्पिक स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा त्यहाँ गएका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
एसियाली खेलकुदको तयारीः टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दुई राष्ट्रिय टेबलटेनिस च्याम्पियन शनिबार दक्षिण कोरियाको सोल प्रस्थान गरेका छन्। संयोग कपाली र योङ्गी पौडेलले सोलमा एक महिनासम्म विशेष प्रशिक्षण लिने भएका हुन्।

अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले खेलाडीहरू १८ जुलाईदेखि १८ अगस्टसम्म सोलस्थित डोक्सान हाइस्कुलमा हुने प्रशिक्षणमा सहभागी हुने जानकारी दिए। उनका अनुसार सन् १९८८ को सोल ओलम्पिकमा स्वर्ण पदक जितेकी याङ यङ्जाको निमन्त्रणामा नेपाली खेलाडी त्यहाँ पुगेका हुन्।

प्रशिक्षण अवधिमा खेलाडीहरूले दक्षिण कोरियाका उत्कृष्ट खेलाडीहरूसँग नियमित अभ्यास गर्ने अवसर पाउनेछन्। साथै, दक्षिण कोरियाको राष्ट्रिय टोलीका खेलाडी तथा प्रशिक्षकहरूसँग भेटघाट, प्रशिक्षण सत्रको अवलोकन र अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ।

राष्ट्रिय खेलकुद परिषद्की सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले खेलाडीहरूलाई सफल प्रशिक्षण र एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना सहित बिदाइ गरे।

एसियाली खेलकुदका लागि टेबलटेनिसमा संयोग र योङ्गीसहित ६ खेलाडी छनोट भएका छन्। कोषाध्यक्ष महर्जनले बाँकी खेलाडीलाई पनि प्रशिक्षणमा लैजान पहल भइरहेको बताए।