मुख्य सामग्रीमा जानुहोस्

ताप्लेजुङ गोल्डकपको टिकटदर तेब्बर बृद्धि, प्याकेज टिकट तीन हजार

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकटदर यस वर्ष तेब्बरले बढाइएको छ। क्वाटर फाइनलदेखि फाइनलसम्म सबै खेल हेर्न एक जनालाई तीन हजार दुई सय रुपैयाँ लाग्ने भएको छ। आयोजकले प्याकेजमा टिकट लिनेलाई तीन हजार रुपैयाँ तोकेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकटदर यस वर्ष तेब्बरले बढाइएको छ। लाखेजात्रा सञ्चालक समितिका अनुसार आगामी भदौ १२ देखि १९ गतेसम्म फुङलिङस्थित भानु जन माविको मैदानमा हुने प्रतियोगिता हेर्न दर्शकले पहिलो चरण (क्वाटर फाइनल) का लागि जनही तीन सय रुपैयाँ तिर्नुपर्नेछ। गत वर्ष यो शुल्क एक सय रुपैयाँ मात्र थियो।

समितिका अध्यक्ष सागर मादेनका अनुसार सेमिफाइनलका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र फाइनलका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ। एक जनाले क्वाटर फाइनलका चार खेल हेर्न १२ सय र सेमिफाइनलका दुई खेल हेर्न १ हजार रुपैयाँ खर्च गर्नुपर्नेछ। फाइनलको टिकट १ हजार रुपैयाँ रहेको छ। यस प्रकार पूरै प्रतियोगिता हेर्न जनही तीन हजार दुई सय रुपैयाँ लाग्ने छ। प्याकेजमा टिकट किन्दा भने तीन हजार रुपैयाँ मात्र तोकिएको मादेनले जानकारी दिए।

प्रतियोगितामा आठ टिम सहभागी

यस वर्ष पनि प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने भएकाले क्वाटर फाइनलका चार खेल हुनेछन्। गत वर्षको विजेता सहलेश युवा क्लब सिराहा, फिदिम स्पोर्टिङ क्लब पाँचथर, झापा-११ फुटबल क्लब, चित्लाङ एफसी काठमाडौं, सातदोबाटो युथ क्लब ललितपुर र आयोजकको टिमको टुंगो लागिसकेको छ। बाँकी दुई टिम एक साताभित्र टुंगो लाग्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको तयारी सुरु भइसकेको समितिका कोषाध्यक्ष दावा शेर्पाले बताए। उनले अब प्याकेजमा टिकट काट्ने कार्य सुरु हुने जानकारी दिए। गत वर्ष टिकट बिक्रीका लागि २० लाख रुपैयाँमा ठेक्का लगाइएको थियो। यस पटक पुरस्कार राशि बढाउने विषयमा छलफल भइरहेको आयोजकले बताएको छ। गत वर्ष विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए।

प्रतियोगिता सञ्चालनका लागि ९९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ। लाखेजात्रा पर्वको अवसरमा कञ्चनजंघा, पाथीभरालगायत नामबाट २०२९ सालदेखि यो प्रतियोगिता हुँदै आएको छ।