ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरे क्षेत्रमा खसेको पहिरोले कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ। निरन्तरको वर्षापछि ठूलो परिमाणमा माटो र ढुंगा खसेपछि यो सडक पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।
पहिरोले ललितपुरको चापागाउँ हुँदै हेटौंडातर्फ आउने–जाने सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ। सडकमा ठूलो मात्रामा भग्नावशेष खसेकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने अवस्था छ। प्रहरीका अनुसार सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षा भइरहेकाले पहिरो झर्ने जोखिम अझै कायम छ।
काठमाडौंलाई मकवानपुरसँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथ वर्षायाममा अत्यधिक जोखिमपूर्ण हुने गरेको छ। सामान्य वर्षा हुँदा पनि पाङदुर, गिम्दी, भर्याङडाडा र ठिंगनदेखि बागमती पुलसम्मको क्षेत्रमा पहिरो खस्ने, सडक भासिने र ढुंगा झर्ने समस्या दोहोरिने गरेको छ।
कान्ति लोकपथ बन्द भएसँगै हेटौंडा–काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारी चालक समस्यामा परेका छन्। विशेषगरी छोटो दूरीका कारण यही सडक रोज्ने साना तथा मध्यम सवारी साधन अहिले वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। यसले यात्रामा समय र लागत दुवै बढ्ने अवस्था सिर्जना भएको छ।
वर्षायाममा पटक–पटक यो सडक बन्द हुने समस्या पुरानै भए पनि जोखिम न्यूनीकरणका लागि दीर्घकालीन समाधान हुन नसकेको स्थानीयको गुनासो छ। पहिरो नियन्त्रण, ढल निकास व्यवस्थापन, भित्तो संरक्षण र कमजोर भूभागको स्थायी व्यवस्थापन प्रभावकारी हुन नसक्दा हरेक वर्ष एउटै समस्या दोहोरिने गरेको सरोकारवाला बताउँछन्।
प्रहरीले अत्यावश्यक कामबाहेक यो सडक प्रयोग नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सडक खुलाउने प्रयास जारी रहे पनि मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सञ्चालन हुने समय भने यकिन हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त सडकमा राति सवारी साधन आउजाउ गर्न रोक लगाएको छ।

