मुख्य सामग्रीमा जानुहोस्

बाल सुधारगृहमा नाइके प्रथा अन्त्य गरिनुपर्ने माग

सांसद लामाले सुधारगृहमा नाइके प्रथाले शक्ति दुरुपयोग र गलत प्रभावको जोखिम बढाउने भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताइन्। उनले कर्मचारीमा बाल मनोविज्ञानको ज्ञान हुनुपर्ने र ध्यान तथा प्रार्थनाको व्यवस्था गर्नुपर्ने सुझाव…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बाल सुधारगृहमा नाइके प्रथा अन्त्य गरिनुपर्ने माग

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बाल सुधारगृहहरूमा प्रचलित नाइके प्रथा समाप्त गर्नुपर्ने माग गरेकी छन्। उनले आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सो माग राखेकी हुन्।

सुधारगृहको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले सुधारगृहलाई थुन्ने ठाउँ मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन्। सुधारगृहमा कार्यरत कर्मचारी वा अभिभावक शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बाल मनोविज्ञान बुझ्ने हुनुपर्ने उनको भनाइ छ।

बाल सुधारगृहमा नाइके वा अन्य बालबालिकामाथि प्रभाव जमाउने व्यक्ति राख्नु उचित हुँदैन। यसले शक्ति दुरुपयोग र गलत प्रभावको जोखिम बढाउँछ। सुरक्षा र अनुशासनको जिम्मा प्रशिक्षित सुरक्षाकर्मी र कर्मचारीले लिनुपर्छ।

सांसद लामाले बालबालिकालाई अनुशासित र नैतिक बनाउन ध्यान (मेडिटेसन) र उनीहरूको धार्मिक आस्थाअनुसार प्रार्थना वा प्रवचनको व्यवस्था गर्नुपर्ने सुझाव दिइन्। अपराधको प्रकृति हेरेर सजायको व्यवस्था गर्न र सामान्य गल्ती गर्नेलाई सम्झाइबुझाइ सुधारको मौका दिनुपर्नेमा पनि उनले जोड दिइन्। बालबालिकाले गरेको गल्तीले समाज र पीडितलाई परेको असरबारे बुझाउन सके मात्र वास्तविक सुधार सम्भव हुने उनको धारणा छ।