काठमाडौँ, ४ साउन:
पवित्र साउन महिनाको अवसर पारेर भगवान शिवप्रति समर्पित नयाँ आध्यात्मिक साङ्गीतिक प्रस्तुति ‘म पनि जान्छु कैलाशमा’ सार्वजनिक गरिएको छ । नेपाली सुगम तथा लोक सङ्गीत क्षेत्रमा सक्रिय गायिका कमला गैरे र गायक रामजी पौडेलको सुमधुर स्वरमा सजिएको उक्त शिव भजन बजारमा आएको हो ।
सार्वजनिक भजनमा भगवान शिवको महिमा, उनको दिव्य स्वरूप र भोलेनाथप्रति एक निष्कलङ्क भक्तको अगाध आस्था एवं समर्पणलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भजनको शब्द रचना तथा सङ्गीत संयोजन स्वयं गायक रामजी पौडेलले गरेका हुन् भने तारानाथ आचार्यले यसको सङ्गीत एरेन्ज गरेका हुन् ।
गीतको भिडियोतर्फ अनिल कार्कीको छायाङ्कन, तारानाथ आचार्यको सम्पादन तथा निर्देशन र राजकुमार गुरुङको शृङ्गार (एमयुए) रहेको छ । डिजिटल स्टार स्टूडियोमा पोस्ट प्रोडक्सन गरिएको यस भजनको मिक्सिङ तथा मास्टरिङ वरिष्ठ सङ्गीतकर्मी खड्का बजुरालीले मालश्री स्टूडियोमा गरेका हुन् ।
भजनमा शिवजीको ‘शिरमा चन्द्रमा र जटामा गङ्गा’ भएको परम्परागत स्वरूपको चित्रण गर्दै गाईको दूध, बेलपत्र र धूप-दीपसहित आराधना गर्ने भक्तिको विधिलाई समेटिएको छ । मानव जीवनमा अन्जानमा भएका गल्तीहरूको क्षमा याचना गर्दै सत्यको मार्ग पहिल्याउन र मनको शान्तिका लागि शिव आराधना नै सर्वोत्तम विकल्प भएको सन्देश भजनले दिन खोजेको छ ।
सूरज अधिकारी (वज्र) को व्यवस्थापन रहेको यो भजन 'रामजी पौडेल अफिसियल' र गायिका कमला गैरेको आधिकारिक युट्युब च्यानललगायतका डिजिटल माध्यमबाट विश्वभरका स्रोता तथा दर्शकमाझ सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । साउनको पावन महिनामा शिवभक्तहरूका लागि यो प्रस्तुति उत्कृष्ट आध्यात्मिक खुराक बन्ने विश्वास लिइएको छ ।

