चितवन — वर्षाको पूर्वानुमान र पहिरोको जोखिमका कारण नारायणगढ-मुग्लिन सडक तथा मुग्लिनदेखि परको पृथ्वीराजमार्गमा आइतबार राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाइएको छ। चितवन जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्म उक्त सडक खण्डमा सबै खाले गाडी चल्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
यसअघि शनिबार राति पनि प्रशासनले यही सडकमा गाडी चल्न रोकेको थियो। तर, अनुमान गरेको भन्दा कम पानी परेको र पहिरोको जोखिम नदेखिएपछि आइतबार बिहान उज्यालो भएपछि गाडी चल्न सुरु भएको थियो। तर, लेन अनुशासन नमानी चालकहरूले तछाडमछाड गरी गाडी चलाउन थालेपछि मुग्लिन नजिक जलबिरेमा दुई यात्रु बस र ट्रक ठोक्किँदा केहीबेर बाटो अवरुद्ध भएको थियो। उक्त दुर्घटनामा करिब ३० जना घाइते भएका थिए।
आपतकालीन सम्पर्क नम्बर सार्वजनिक
गाडी बन्द रहेका बेला सहयोग आवश्यक परेमा सम्पर्क गर्न चितवन प्रशासनले फोन नम्बरहरू सार्वजनिक गरेको छ। नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपतकालिन केन्द्रको १२३४ र जिल्ला प्रहरी प्रवक्ताको ९८५५०१३९९९ मा सम्पर्क गर्न प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ।

