मुख्य सामग्रीमा जानुहोस्

हुम्लामा बाढी र पहिरो, कर्णाली करिडोरका विभिन्न स्थानमा सडक अवरुद्ध

लगातारको वर्षापछि हुम्लामा आएको बाढी र पहिरोले कर्णाली करिडोरका विभिन्न स्थानमा सडक अवरुद्ध बनाएको छ । थाहा खोलाको बाढीले खेतियोग्य जमिनको बाली नष्ट गरेको छ भने ग्युसीदेखि खार्पुसम्म भारी सवारीसाधन तथा यात्रुको आवतजावत…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
हुम्लामा बाढी र पहिरो, कर्णाली करिडोरका विभिन्न स्थानमा सडक अवरुद्ध
Online Khabar

लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । अवरोधका कारण यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावत प्रभावित बनेको छ र केही स्थानमा खेतीबालीसमेत नष्ट भएको छ ।

सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिल्लो भागबाट लेदो मिसिएको बाढी आउँदा सडक अवरुद्ध हुनाका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।

सर्केगाड गाउँपालिका–१ जैराका स्थानीय खगेन्द्र धामीका अनुसार आज बिहान करिब तीन घण्टा निरन्तर पानी परेपछि पहाडबाट लेदोसहितको बाढी तल्लो भागमा आएको थियो । उक्त बाढी थाहा ज्युलो लगायत आसपासका क्षेत्रमा पसेर खाद्यान्न बाली नष्ट गरेको उनले जानकारी दिए । खोलाको बहावले खेतीयोग्य जमिनमा लगाइएको बालीसमेत सखाप पारेको छ ।

सर्केगाड गाउँपालिकाको केन्द्र भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढेपछि बजार क्षेत्र र आसपासमा क्षति पुगेको छ । बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा बहाव बढ्दा आसपासमा समस्या देखिएको छ ।

माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरीचौकीका सहायक निरीक्षक जगदीशकुमार ऐरले बताए । बालीमा क्षति पुग्नुका साथै सडक बन्द भएकाले मार्ग खुलाउन गाउँपालिका तथा सम्बन्धित सडक निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

ग्युसीदेखि खार्पुसम्म यातायात प्रभावित

कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरेको छ भने केही खण्ड साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।

कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चङ्खेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्म पहाडबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो विभिन्न स्थानमा खसेको छ ।

सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या परेको छ । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउने–जाने यात्रु प्रभावित भएका छन् ।

मुख्य स्थलमार्गमा बारम्बार अवरोध

कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो । वर्षायाममा पहिरोका कारण यो मार्ग पटकपटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति पनि प्रभावित हुँदै आएको छ ।