दिल्ली उच्च अदालतले भारतीय अभियन्ता सोनम वाङ्चुकलाई हाल उपचार भइरहेको सफदरजंग अस्पतालबाट निजी अस्पतालमा सार्न आवश्यक नरहेको ठहर गरेको छ। न्यायाधीश मिनी पुष्कर्णले आइतबार वाङ्चुककी पत्नी गिताञ्जली जे. आङ्मोले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएका हुन्।
अदालतले वाङ्चुक हिरासतमा नरहेको र उनकी पत्नी, भाइ तथा भिनाजुलाई भेटघाटको अनुमति दिइएको उल्लेख गरेको छ। साथै, परिवारका सदस्यहरूका लागि छुट्टै कोठा उपलब्ध गराइएको र उनीहरूले वाङ्चुकसँग समय बिताइरहेको जनाइएको छ। न्यायाधीशले भने, ‘अहिलेको अवस्थामा कुनै अन्तरिम आदेश जारी गर्न आवश्यक देखिँदैन।’
आङ्मोको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता कपिल सिब्बलले अस्पतालले वाङ्चुकलाई आफ्ना चिकित्सक र कानुन व्यवसायीहरूसँग भेट्न नदिएको तथा उपचारबारे परिवारलाई जानकारी नदिएको आरोप लगाएका थिए। तर अदालतले भने, ‘समग्र पक्षलाई विचार गर्दा, सरकारले वाङ्चुकको स्वास्थ्य अवस्थाका कारण उनलाई अस्पताल सार्ने निर्णय लिएको हुनाले, यो निर्णयलाई स्वेच्छाचारी कार्य मान्न सकिँदैन।’ अदालतले सफदरजंग अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य नजिकबाट निगरानी गरिरहेको र उनकै मन्जुरीअनुसार उपचार भइरहेको बताएको छ।
वाङ्चुक नीट परीक्षामा भएको अनियमितता तथा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’को नेतृत्वमा भइरहेको आन्दोलनको समर्थनमा जुन २८ देखि अनिश्चितकालीन भोक हडतालमा थिए। भोक हडतालको २१ औं दिनमा शनिबार दिल्ली प्रहरीले उनलाई जबर्जस्ती सफदरजंग अस्पताल पुर्याएको थियो। आफ्नो निवेदनमा आङ्मोले सरकारी अस्पतालप्रति विश्वास गुमेको भन्दै वाङ्चुकलाई आफ्नो रोजाइको निजी अस्पतालमा सार्न माग गरेकी थिइन्।
अदालतले तीन दिनभित्र वाङ्चुकको स्वास्थ्य अवस्थाबारे रिपोर्ट पेस गर्न सरकारलाई आदेश दिएको छ। यस मुद्दाको अर्को सुनुवाइका लागि जुलाई २४ को मिति तोकिएको छ।

