मुख्य सामग्रीमा जानुहोस्

महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै

नवरात्रको नवौँ दिन आज पूजाकोठा र दशैंघरमा सिद्धिदात्री देवीको पूजा गरिँदै छ भने घटस्थापनाको दिन राखिएको जमरा शक्तिपीठमा लगेर चढाइँदै छ। कोतहरूमा हर्षोल्लासका साथ कोतपूजा र निशानापूजा पनि भइरहेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै
Nagariknetwork

हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन पर्ने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधनासहित मनाइँदै छ। नवरात्रको अन्तिम दिन भएकाले आज शक्तिपीठ, देवी मन्दिर, पूजाकोठा तथा दशैंघरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

घटस्थापनाका दिन पूजाकोठा वा दशैंघरमा राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना हुन्छ। सोही अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिँदै छ।

पशुबलि नलिने तथा शाकाहारी भक्तहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलजस्ता सामग्री बलिका रूपमा चढाई पायस पनि अर्पण गर्ने गर्छन्। धेरै स्थानमा महाष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने चलन पनि विद्यमान छ।

सिद्धिदात्रीको पूजा र कन्या पूजन

आज पूजाकोठा तथा दशैंघरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने परम्परा छ। यसै अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा गरिन्छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेका थिए, जसका कारण यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

कोतमा निशानापूजा

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा तथा निशानापूजा गरिन्छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशानापूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।

नवरात्रभर विभिन्न दिनमा देवीहरूको पूजा गरिएपछि आज पर्वको मुख्य दिनका रूपमा देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजन उपस्थित भएका छन्।