डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्वशिक्षक धनबहादुर मल्लको सोमबार बिहान निधन भएको छ। उनी करिब ९० वर्षका थिए।
दिपायल सिलगढी नगरपालिका–६, सिलगढी निवासी मल्लको बिहान करिब ५:३० बजे आफ्नै निवासमा निधन भएको हो। उनका जेठा छोरा योगेश मल्लका अनुसार आइतबारसम्म उनी सामान्य अवस्थामा रहेका थिए। एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनको निधन भएको हो।
वि.सं. १९९४ साल भदौ ५ गते बुबा मानबहादुर मल्ल र आमा मानकुमारी मल्लको कोखबाट जन्मिएका मल्ललाई डोटेली पत्रकारिताको पहिलो पुस्ताका अग्रदूतका रूपमा चिनिन्छ। उनले वि.सं. २०१६ सालमा 'सगरमाथा' का लागि डोटी समाचारदाताका रूपमा पत्रकारिता यात्रा सुरु गरेका थिए। त्यसपछि वि.सं. २०१८ सालदेखि राष्ट्रिय समाचार समिति (रासस) का डोटी समाचारदाताका रूपमा लामो समय कार्यरत रहे।
