कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वरपरको जङ्गलमा च्याउ खोज्न गएर बेपत्ता भएका १७ जनाको खोजी तथा उद्धार अभियान जारी छ। हराएकामध्ये बेलडाँडीका तीन महिलासँग सोमबार बिहान टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका–१९ बागफाँटा दशरथटोलका १४ जना आइतबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका थिए। अबेरसम्म उनीहरू फर्केर नआएपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले रातिदेखि नै खोजी सुरु गरेको हो।
बेलडाँडी गाउँपालिका–२ चवन्नीकी मञ्जु क्षेत्री, लक्ष्मी थापामगर र सीता चौधरीसँग सोमबार बिहान सम्पर्क भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक जय पार्कीले बताए। ती महिलाले आफूहरू सिमलको रुखको फेदमा सुरक्षित रहेको जानकारी दिए तर ठाउँ यकिन गर्न नसकेपछि उद्धार टोलीले सम्भावित क्षेत्रमा खोजी केन्द्रित गरेको छ।
खोजीमा नेपाल प्रहरी, नेपाली सेनाको रणसिंह दल गण (क) गुल्म बेलडाँडी र स्थानीयवासी संयुक्त रूपमा खटिएका छन्। निकुञ्ज क्षेत्रमा मोबाइल नेटवर्क सीमित हुनु खोजीमा चुनौती बनेको छ। प्रहरी चौकी बागफाँटाबाट प्रहरी वरिष्ठ हवल्दार प्रेमराज जोशीको कमाण्डमा तीन जना तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतको नेतृत्वमा ७ जना खटिएका छन्। त्यसैगरी मझगाउँ र मालुमेलाबाट ३३ जना नेपाली सेना पनि परिचालित छन्।
बागफाँटाका हराएका १४ जनासँग भने अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन। प्रहरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङ्गलमा वर्षायाममा नजान, समूहबाट नछुट्टिन र पर्याप्त तयारीविना नजान आग्रह गरेको छ।
