एक करोड रुपैयाँभन्दा बढी खर्च गरेर विदेशमा पढ्न जानुपर्ने डिग्री नेपालमै करिब १५ लाख रुपैयाँमा हासिल गर्न सकिने बताइएको छ। नेपालमै उच्च गुणस्तरको शिक्षा दिन सकिने भन्दै सोही स्तरको पढाइ स्वदेशमै उपलब्ध गराउन आवश्यक रहेको आइप्यान (इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल) का अध्यक्ष केसीले बताएका छन्।
विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सकिने सम्भावना उल्लेख गर्दै उनले यसका लागि सरकार र सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।
भिसा प्रक्रियामा सुधारको आवश्यकता
आइप्यान अध्यक्ष केसीले नेपालको हालको भिसा प्रक्रिया झन्झटिलो रहेको बताए। उनले विदेशी विद्यार्थीले कलेजको अफर लेटरकै आधारमा भिसा पाउने र अध्ययन अवधिभरका लागि भिसा सुनिश्चित हुने व्यवस्था गर्नुपर्ने धारणा राखे। हाल पर्यटक भिसामा आउने र भर्ना पाएपछि मात्र विद्यार्थी भिसा पाउने अवस्था रहेको छ, जसले विदेशी विद्यार्थी आकर्षित हुन सकेका छैनन्।
श्रम कानुन सुधार र रोजगारी सुनिश्चितता
केसीले श्रम कानुनमा सुधार गरेर पढ्दै काम गर्न पाउने व्यवस्था गरिनुपर्ने बताए। सरकार, विश्वविद्यालय, शिक्षण संस्था र निजी क्षेत्रको सहकार्यमा पढाइपछि रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ। बंगलादेश, पाकिस्तान, म्यानमार, इन्डोनेसिया, कम्बोडिया र अफ्रिकी देशहरूबाट विद्यार्थी ल्याउन सकिने सम्भावना उल्लेख गर्दै उनले नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्र र विश्वभरका नेपालीभाषीलाई पनि आकर्षित गर्न सकिने बताए।
