मुख्य सामग्रीमा जानुहोस्

अभिजित दिपकेद्वारा अनशन समाप्त, बुवाको आग्रहपछि भोकहडताल अन्त्य

कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले सोमबार आमरण अनशन तोडेका छन्। मेडिकल उच्च शिक्षाको प्रवेश परीक्षा (नीट) सुधारको माग गर्दै उनले शनिबारदेखि अनशन सुरु गरेका थिए। उनका बुवा भगवान दिपकेको आग्रहपछि…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले सोमबार आफ्नो आमरण अनशन तोडेका छन्। मेडिकल उच्च शिक्षाका लागि लिइने राष्ट्रिय प्रवेश परीक्षा (नीट) मा सुधारको माग गर्दै उनी शनिबारदेखि अनशनरत थिए। सीजेपीले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार उनले आफ्ना बुवा भगवान दिपकेको आग्रहमा भोकहडताल अन्त्य गरेका हुन्।

यसअघि, शनिबार शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङ्चुकलाई जन्तर-मन्तरस्थित अनशनस्थलबाट प्रहरीले उठाएर अस्पताल लगेपछि अभिजित दिपकेले आमरण अनशन सुरु गरेका थिए। वाङ्चुकले पनि यसअघि जुन २८ देखि केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामा तथा परीक्षा र शिक्षा प्रणालीमा सुधारको माग गर्दै अनिश्चितकालीन भोक हडताल गरेका थिए। आइसाका तीन विद्यार्थीले पनि सोही मागसहित गरेको अनशन तोडेको बताइएको छ।

यसैबीच, सीजेपीका प्रवक्ता सौरभ दासले आफू र आशुतोष रांका केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डासँग कुराकानीका लागि गएको जानकारी दिएका थिए। उनले मध्याह्न १२ बजेतिर एक्समा यसबारे जानकारी दिए पनि वार्ताको थप विवरण प्राप्त भएको छैन।

सीजेपीको आह्वानमा नयाँदिल्लीमा सोमबार आयोजित 'चलो संसद्' मार्चमा सुरक्षाकर्मीले धरपकड र लाठीचार्ज गरेका छन्। जन्तर-मन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवन जान लाग्दा प्रहरीले बीचमै रोक्ने प्रयास गरेको थियो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गरेको हो। दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने जनाउँदै आएको छ। सोमबारदेखि नै संसद्को मनसुन सत्र सुरु भएकाले प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहेका थिए।

मार्चमा विभिन्न विपक्षी दलका नेताहरूसमेत सहभागी थिए। आजाद समाजवादी पार्टी (काशीराम) का प्रमुख चन्द्रशेखर आजाद, तृणामूल कांग्रेस सांसद महुवा मोइत्रा, दिल्लीकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी आम आदमी पार्टीकी नेता आतिशी, मनीष सिसोलिया, सञ्जय सिंहलगायतका नेताहरू उपस्थित थिए। कलाकारहरूमा प्रकाश राज, सबाना आजमी, विशाल ददलानी, सोनाक्षी सिन्हा, स्वरा भाष्करलगायतले विद्यार्थी आन्दोलनलाई समर्थन जनाएका छन्। दिल्ली प्रहरीले मार्चमा करिब ८ हजार सहभागी रहेको दाबी गरेको छ।