नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सभाहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मलाई ध्यानमा राखेर प्रदेश सरकार गठन हुनुपर्नेमा जोड दिए ।
उपसभापति शर्माले प्रदेश सरकारमा देखिएका वर्तमान समस्या राजनीतिक संवादमार्फत हल गरिने बताए । प्रदेश सरकार गठन र फेरबदलको सन्दर्भमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको उनले स्वीकार गर्दै त्यसका लागि आन्तरिक संवाद भइरहेको जानकारी दिए ।
प्रदेश सभा प्रतिपक्षविहीन बनाउन नहुने
शर्माले भने, 'हामी एउटा कुरामा स्पष्ट छौं । कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन । वर्तमान संविधान निर्माणका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनबारे संवाद र छलफल चलिरहेका बेला संविधानको मूल मर्मलाई उल्लंघन गर्न मिल्दैन ।'
प्रदेश सरकार गठन वा फेरबदल हुँदा प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरी निष्कर्षमा पुग्न चाहेको उनले बताए । आवश्यक परे नेपाली कांग्रेस प्रतिपक्षमा बस्न पनि तत्पर रहेको उनको भनाइ थियो । तर नागरिकको अभिमत र निर्वाचनको मर्मलाई बेवास्ता गर्दै सबै मुख्य दलहरू एउटै सरकारमा अटेर बस्नुपर्छ भन्ने मान्यता आफूहरूले नराख्ने उनले स्पष्ट पारे ।
प्रदेशमा देखिएका वर्तमान समस्या राजनीतिक संवादमार्फत हल हुने उनले विश्वास व्यक्त गरे ।
बीपी स्मृति दिवसमा 'ग्रिन रन' कार्यक्रम
त्यसैगरी, नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने नयाँ राजनीतिक अभियान घोषणा गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार बिहान ललितपुरको यूएन पार्कबाट ५ किलोमिटर 'ग्रीन रन' प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
कांग्रेस उपसभापति शर्माले उक्त कार्यक्रममा पार्टी सभापति गगन थापासहितका नेता तथा पदाधिकारीहरू सहभागी हुने बताए । उनका अनुसार साउन ६ गते जलवायु परिवर्तन केन्द्रित कार्यक्रम र साउन ७ गते राष्ट्रिय सभागृहमा 'नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान' विषयक विचार गोष्ठी हुनेछ ।
कार्यक्रममा सभापति थापाले 'जरा अभियान' पछिको नयाँ अभियान घोषणा गर्ने कार्यक्रम रहेको छ । पार्टीले 'ग्रीन रन' मा सहभागी हुनेको संख्याका आधारमा 'मानवीय सहयोग कोष' स्थापना गर्ने पनि जनाएको छ । उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुमवासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा सहयोग गरिने उल्लेख गरिएको छ ।
