मुख्य सामग्रीमा जानुहोस्

भारतीय स्वास्थ्यमन्त्री नड्डाको सीजेपी प्रतिनिधिसँग सौहार्दपूर्ण वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी रहने

दिल्लीमा झन्डै एक महिनादेखि धर्नारत युवाहरूको मागबारे भारतीय सरकारले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ। स्वास्थ्यमन्त्री नड्डाले वार्ताको तस्बिर सार्वजनिक गर्दै सौहार्दपूर्ण भेट भएको बताए। तर, सीजेपीले शिक्षामन्त्री…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

दिल्लीमा झन्डै एक महिनादेखि धर्नारत युवाहरूको मागबारे केन्द्र सरकारले सोमबार पहिलोपल्ट औपचारिक रूपमा प्रतिक्रिया दिएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाले कक्रोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिसँग सौहार्दपूर्ण वार्ता भएको जानकारी दिएका हुन्।

सीजेपीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांकासँगको भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै मन्त्री नड्डाले सामाजिक सञ्जालमा लेखेका छन्, 'आज बिहान पहिलोपल्ट प्रदर्शनकारीका तर्फबाट सरकारसँग वार्ताको प्रस्ताव आयो। बिहान ११:५० देखि हाम्रो कुराकानी जारी छ। सौहार्दपूर्ण वातावरणमा भेट भयो। डेलिगेसनसँग पहिले विस्तारपूर्वक मौखिक छलफल भयो त्यसपछि उहाँहरूले मलाई ४ बजे लिखित मागपत्र दिनुभयो।' मन्त्री नड्डाले प्रदर्शन अन्त्य गर्न र सामान्य अवस्था बनाउन प्रशासनलाई सहयोग गर्न अनुरोध गरेको पनि बताएका छन्।

सीजेपी प्रवक्ता दासले भने आफू र रांका १२ बजेदेखि नड्डा निवासमा रहेको जानकारी दिँदै भनेका छन्, 'धर्मेन्द्र प्रधानको तत्काल राजीनामा वा बर्खास्तीको मागसहित आन्दोलनकारीहरूको माग उहाँसमक्ष राखिएको छ। मन्त्रीले यी मागहरू उपयुक्त तहमा छलफल गर्ने आश्वासन दिनुभएको छ। तर अहिलेसम्म कुनै ठोस प्रतिबद्धता आएको छैन। माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनकारीहरू पछि हट्ने छैनन्।'

प्रदर्शनकारीहरूले उठाएका प्रमुख मागहरूमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, सोनम वाङ्चुकको रिहाइ र नीट परीक्षार्थीको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति रहेको छ। वार्तामा भने यी मागहरूमा कुनै ठोस प्रतिबद्धता नआएको दासले बताए।