कास्कीको मादी गाउँपालिका–२ मा अवस्थित ताङतिङ गाउँ एक हजार ६६० मिटरको उचाइमा रहेको छ। यो गाउँ गुरुङ समुदायको बाहुल्यता रहेको र आफ्नो मौलिक संस्कृति, परम्परागत ढुङ्गा–टिनका घर तथा प्राकृतिक सुन्दरताका लागि परिचित छ। पोखराको काहुँखोलाबाट २१ किलोमिटर दूरीमा रहेको यस गाउँको फेदीमा मादी खोला बग्छ भने सिरानमा वनक्षेत्र फैलिएको छ। यहाँबाट अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको मनोरम दृश्य देख्न सकिन्छ।
गुरुङ संस्कृतिको जीवित संग्रहालय
ताङतिङ गाउँ गुरुङ संस्कृति, भाषा, कला र परम्पराको खुला पुस्तक हो। यहाँका बासिन्दा बोन, बुद्ध र हिन्दु धर्म मान्छन्। ल्होछार, बुद्धपूर्णिमा, साउनेसङ्क्रान्ति, माघेसङ्क्रान्ति, दशैं–तिहार जस्ता चाडपर्वहरू मनाइन्छन् भने भूमि देवता ‘बाजे बैकु’ र ‘नौचु फिच्यौं’को पूजा गरिन्छ। परम्परागत घाटु, झ्याउरे, सोरठी, कृष्णचरित्र र ठेटर नाच पनि संरक्षित छन्। गाउँको पुछारमा रहेको नौचु पैगी लामा महायान बौद्ध गुम्बा र सिरानमा बोन धर्मावलम्बीको तोनी कोइबा धिंले धार्मिक तथा सांस्कृतिक विविधतालाई दर्शाउँछ।
ताङतिङ नामकरणका बारेमा किंवदन्ती छ। गुरुङ भाषामा यसलाई ‘तोनी नासा’ भनिन्छ, जसको अर्थ ‘रमाइलो गाउँ’ हो। अर्को किंवदन्ती अनुसार, यस ठाउँमा पहिले बँदेल खेल्ने र लड्ने गरेकाले ‘तोनी’ (बँदेल र लड्ने) भनियो, जो अपभ्रंश हुँदै ताङतिङ बनेको हो।
प्राकृतिक सम्पदा र वन्यजन्तु संरक्षण
ताङतिङ क्षेत्रका झरना, खोला, वनजङ्गल र वन्यजन्तु अध्ययनका लागि आकर्षक छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) र ‘प्रकृतिका साथीहरू’ जस्ता संस्थाहरूले यहाँ वन्यजन्तु अनुसन्धान र संरक्षण गरिरहेका छन्। सन् २०१७ र २०२१ मा क्यामेरा ट्र्यापिङमा विश्वमै दुर्लभ ध्वाँसे चितुवा र वन कुकुर (प्याउँ) अभिलेख भएको थियो। यी संस्थाहरूले स्थानीय समुदायसँग मिलेर ती जनावरको अनुगमन, संरक्षण र पर्यापर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिरहेका छन्। साथै, यहाँका खोलानालामा पाहाका प्रजाति र भीरमौरीका घारको अध्ययन पनि भइरहेको छ।
ताङतिङ गाउँबाट २० मिनेट पैदलमा ताङतिङ झरना, २५ मिनेटमा पुलुकों डाँडा र करिब एक घण्टामा नौचु डाँडा पुग्न सकिन्छ। नौचु डाँडा दुई हजार ४७ मिटर उचाइमा रहेको छ भने त्यहाँ हिमाल, डाँडापाखा र वन्यजन्तु हेर्न सकिन्छ।
क्रपु डाँडा : हिमाल र लालीगुराँसको सुन्दरता
ताङतिङसँगैको मुख्य गन्तव्य क्रपु डाँडा हो। यो डाँडा ताङतिङबाट करिब ११ किलोमिटर दूरीमा तीन हजार ८५ मिटर उचाइमा छ। पाँच घण्टा पैदल वा एक घण्टा जीपमा पुग्न सकिन्छ। क्रपु आफ्नो लालीगुराँसको वन, हिउँ, सूर्योदय–सूर्यास्तको दृश्य, चरा अवलोकन (विशेष गरी सिकारी चरा) र सानो पोखरीमा परेको हिमालको प्रतिबिम्बका लागि प्रख्यात छ। पुस–माघमा यहाँ हिउँ पर्छ भने फागुन–चैतमा गुराँस फुलेर मनमोहक हुन्छ। क्रपुबाट पोखरा उपत्यकाको रातको झिलीमिली दृश्य देख्न सकिन्छ।
क्रपु डाँडा योग, ध्यान र क्याम्पिङका लागि पनि उपयुक्त छ। यहाँ टेन्टेड क्याम्प र होटल छन्, तर पहिले बुक गर्नुपर्छ। चिसो भएकाले न्यानो कपडा आवश्यक हुन्छ। क्रपुबाट तीन हजार ३०० मिटरको चोरो डाँडा पनि पुग्न सकिन्छ।
पर्यटन पूर्वाधार र चुनौती
ताङतिङमा २०६८ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा छन्। यहाँ डेढ दर्जन होमस्टे र करिब एक दर्जन होटल तथा टेन्ट क्याम्प छन्। पोखराको काहुँखोलाबाट बिहान ८ बजे र दिउँसो ४ बजे बस छुट्छन्, यात्रा अवधि साढे दुई घण्टा छ। स्थानीय उत्पादनमा भेडाबाख्राको ऊनबाट बुनेका चकटी, भाङ्ग्रा, मह, गेडागुडी, सागसब्जी र आलु कोसेलीका रूपमा पाइन्छ। फोहोर प्लास्टिकलाई पनि हस्तकलामा रूपान्तरण गरिएको छ।
तर, बढ्दो पर्यटनसँगै चुनौती पनि देखिएका छन्। पुराना ढुङ्गा–खरका घरहरू कङ्क्रिटका पर्खाल र छानाले विस्थापित हुँदैछन्। होमस्टेहरू व्यावसायिक होटलजस्तो बन्दै गएको स्थानीय बताउँछन्। आगन्तुकहरूको होहल्ला, जथाभावी फोहोर फाल्ने प्रवृत्ति र वन–वन्यजन्तुमा पर्ने असरका कारण सम्बन्धित पक्षले बेलैमा ध्यान दिनुपर्ने लेखक तथा स्थानीय पर्यटन व्यवसायी प्रकाश गुरुङ बताउँछन्। उनका अनुसार, भीरमौरीको सिकार जस्ता साहसिक पर्यटनको प्रवर्धनले पर्यापर्यटन बढाउन सक्छ।
ताङतिङ र क्रपु प्रकृति र संस्कृतिको अनुपम संगम हुन्। यसलाई जीवित राख्न पर्यावरणीय सुरक्षा, मौलिकता संरक्षण र दिगो पर्यटन आवश्यक छ।
