कञ्चनपुर, १० भदौ । कञ्चनपुरको गड्डाचौकी पश्चिमी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको सङ्ख्या पछिल्ला केही वर्षदेखि निरन्तर बढ्दो छ । अध्यागमन कार्यालय गड्डाचौकीले सार्वजनिक गरेको तथ्यांकले यो नाका विदेशी आगन्तुकका लागि भरपर्दो प्रवेशबिन्दु बनिरहेको देखाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष यो नाकाबाट एक हजार ७५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त अवधिमा नाकाबाट एक करोड पाँच लाख १८ हजार ११९ रुपैयाँ राजस्व उठेको कार्यालयका सूचना अधिकारी नवराज भट्टले जानकारी दिए । उनका अनुसार सोही अवधिमा एक हजार ५३४ पर्यटक यही नाका प्रयोग गरी नेपालबाट बाहिरिएका छन् ।
कार्यालयको तथ्यांकलाई हेर्दा सन् २०२२ मा ५४२, सन् २०२३ मा ९८३ र सन् २०२४ मा एक हजार १५४ पर्यटक गड्डाचौकी हुँदै नेपाल आएका थिए । तीन वर्षको यो आँकडा तुलना गर्दा पश्चिमी नाकाबाट हुने विदेशी पर्यटक आगमनमा स्पष्ट सुधार देखिन्छ ।
सुदूरपश्चिममा पर्यटकीय गन्तव्य प्रशस्त भए पनि यो नाकाबाट आउने अधिकांश पर्यटक काठमाडौँ र पोखरातिरै मोडिने गरेका छन् । खप्तड, बडिमालिका, रामारोशन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका गन्तव्य रहे पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा पर्यटक अन्यत्र जाने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।
“गड्डाचौकी विदेशी पर्यटक भित्रिने प्रमुख नाका हो । यहाँबाट भारतका पर्यटकीय सहर पनि नजिक छन्,” पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने ।
उनले नाकामै पर्यटन सूचना डेस्क स्थापना गर्नुपर्ने र त्यसबाट सुदूरपश्चिमलगायत नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी दिने व्यवस्था हुनुपर्ने बताए । पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकारबीच समन्वय हुनुपर्ने उनको भनाइ थियो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले भने, “हामीसँग रहेका आकर्षक गन्तव्यसम्म पुग्न सहज पूर्वाधार र अन्य सुविधाको अभाव छ ।” उनले सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई कम्तीमा एक रात यतै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।







