नेपाल सरकारले हिमाली आरोहणका क्रममा खटाउने सम्पर्क अधिकृतमा ५० प्रतिशत कोटा अनुभवी आरोहीको हुनुपर्ने माग सगरमाथा आरोहीहरूले गरेका छन्। सगरमाथा आरोही संघको रजत महोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले यो माग अघि सारेका हुन्।
संघकी अध्यक्ष माया शेर्पा, प्रथम उपाध्यक्ष दिवस पोखरेल र महासचिव शिव बहादुर सापकोटालगायतका नेताहरूले हिमालमा अनुभवी सम्पर्क अधिकृतको भूमिका निकै महत्त्वपूर्ण हुने भन्दै त्यसमा आरोहीहरूको सहभागिता बढाउन आग्रह गरे। महासचिव सापकोटाले जीवन हत्केलामा राखेर देशको नाम उच्च बनाउने आरोही तथा उनीहरूका परिवारको भविष्य सुनिश्चित गर्न मजबुत कल्याणकारी कोषको व्यवस्था हुनुपर्ने बताए।
उनले दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य उपचार र सहिद भएका आरोहीका बच्चाहरूका लागि उच्च शिक्षा तथा पूर्ण छात्रवृत्तिको ग्यारेन्टी गर्नसमेत माग गरे। सुरक्षित आरोहणका लागि आधुनिक प्रविधियुक्त तालिमको व्यवस्था गर्ने पूर्वाधार विकास गर्नुपर्ने र उद्धार तथा राहतका कार्यक्रमलाई व्यवस्थित बनाउनुपर्नेमा पनि उनले जोड दिए। सगरमाथा आरोहणको इतिहासदेखि हालसम्मका गतिविधि, घटना र सामग्री समेट्ने आरोहण संग्रहालय स्थापनाको पनि माग गरियो।
प्रथम उपाध्यक्ष पोखरेलले सम्पर्क अधिकृतको कोटा बढाउन आग्रह गरे। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले हिमालमा साधारण कर्मचारीको तुलनामा आरोही सम्पर्क अधिकृत बनाउँदा उद्धार र आरोहण सहजीकरणमा ठूलो सहयोग पुग्ने भन्दै सो मागमा आफ्नो संघको समेत समर्थन रहेको बताए।
कार्यक्रममा कीर्तिमानी आरोही तथा सांसद मिङ्मा डेभिड शेर्पाले सरकारले हाल पर्यटन ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै सो ऐनमा आरोहीहरूका सवाल समेट्न संघका तर्फबाट आवश्यक सुझाव दिन आग्रह गरे। आफू जतिसुकै अनुभवी भए पनि आरोहीहरूको सामूहिक आवाजको महत्त्व ठूलो हुने भन्दै उनले वर्तमान सरकार र सत्तारुढ दलहरू पर्यटन विकासमा गम्भीर रहेको र सोहीअनुसार पहल गर्ने बताए।
सगरमाथा आरोही संघको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ। सल्लाहकार बोर्डमा पर्यटन मन्त्री, पर्यटन मन्त्रालयका सचिवलगायत रहने भएकाले आरोहीहरूलाई सरकारले उच्च सम्मान दिएको भए पनि व्यवहारमा सो देखिनुपर्ने वक्ताहरूले बताए। संघले आफ्नो २५ वर्षे यात्राका क्रममा आरोहण क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मानसमेत गरेको छ।







