भारतका ब्याटर वैभव सूर्यवंशीले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान रचेका छन्। हरारेमा जिम्बाबेविरुद्धको पहिलो खेलमा उनले मात्र १८ बलमा अर्धशतक बनाएर यस फर्म्याटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बन्ने उपलब्धि हासिल गरे।
१५ वर्ष ११८ दिनको उमेरमा सूर्यवंशीले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गर्दा चार चौका र चार छक्का प्रहार गरे। उनले यसअघि इंग्ल्यान्डविरुद्धको शृंखलामा १४, १३ र १५ रन बनाएका थिए, तर जिम्बाबेविरुद्ध पहिलो बलदेखि आक्रामक देखिए।
श्रेयस अय्यरको कप्तानीमा रहेको भारतीय टोलीले १२६ रनको लक्ष्य ६ ओभरभन्दा बढी बाँकी रहँदै सहजै पूरा गर्यो। यसअघि भारतीय बलरहरूले जिम्बाबेलाई २० ओभरमा ७ विकेट गुमाएर १२५ रनमा सीमित गरेका थिए।
यसअघि टी–२०आईमा सबैभन्दा कान्छो अर्धशतकको कीर्तिमान गिब्राल्टरका लुइस ब्रुसको नाममा थियो, जसले २०२१ मा माल्टाविरुद्ध १६ वर्ष ५६ दिनको उमेरमा अर्धशतक बनाएका थिए। सूर्यवंशीले गत महिना आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको शृंखलाबाट भारतीय टी–२० टोलीमा स्थान बनाएका हुन्। यसै हरारे मैदानमा उनले जनवरीमा आईसीसी यू–१९ विश्वकपको फाइनलमा ८० बलमा १७५ रनको विस्फोटक इनिङ्स खेलेका थिए। भारत र जिम्बाबेबीच दोस्रो टी–२०आई जुलाई २५ मा हरारेमै हुनेछ।



