मुख्य सामग्रीमा जानुहोस्

कृषि विश्वविद्यालयले विदेशी विद्यार्थी भर्नाको तयारी थाल्यो

कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्नाका लागि नीतिगत तयारी अन्तिम चरणमा पुर्याएको छ। विश्वविद्यालयले कृषि, वन विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञानको स्नातक कार्यक्रममा विदेशी विद्यार्थी भर्ना लिने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ। यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाका अनुसार विदेशी विद्यार्थी भर्नासम्बन्धी छलफल अन्तिम चरणमा पुगेको छ, तर निर्णय भने भइसकेको छैन। उनले भने, 'कुनै पनि विश्वविद्यालय अन्तरराष्ट्रियस्तरको स्तरनिर्धारण गर्नका लागि विदेशी विद्यार्थीको अध्यापन हुनु जरुरी हुन्छ। विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरको बनाउने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थीको अध्यापन एक महत्वपूर्ण आधार भएकाले भर्नाका लागि छलफल अघि बढाइएको हो।'

विश्वविद्यालयले कृषि, वन विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान गरी चारवटा स्नातक कार्यक्रममा विदेशी विद्यार्थी भर्ना लिने तयारी गरेको छ। तिमिल्सिनाले तीनवटै सङ्कायका यी कार्यक्रममा भर्ना लिन लागिए पनि कति सङ्ख्यामा भर्ना लिने र शुल्क कति लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जानकारी दिए।

नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले यसअघि छोटा अवधिका अनुसन्धान कार्यक्रम र विदेशी विद्यार्थीको सीप विकासका लागि कक्षा सञ्चालन गरे पनि शैक्षिक उपाधि प्रदान गर्ने गरी विद्यार्थी भर्ना गरेर अध्ययन/अनुसन्धानको कार्यक्रम सञ्चालन नगरेको तिमिल्सिनाको भनाइ छ।