मुख्य सामग्रीमा जानुहोस्

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपितलाई स्थानीयले कुटपिट

रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा शुक्रबार बिहान ४५ वर्षीया रेनु देवी जैसवालको खुकुरी प्रहारबाट हत्या भएको छ। आरोपित उपेन्द्र साह कलवारलाई स्थानीयले कुटपिट गरी प्रहरीलाई बुझाएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा शुक्रबार बिहान एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुनेमा सोही स्थानकी ४५ वर्षीया रेनु देवी जैसवाल रहेकी छन्। उनलाई बिहान करिब १०:३० बजे खुकुरीले प्रहार गरिएको थियो र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आरोपितमा बाराको करैयामाई गाउँपालिका–८ मूल घर भई हाल हरिहरपुरमा बसोबास गरिरहेका ३५ वर्षीय उपेन्द्र साह कलवार रहेको प्रहरीले बताएको छ। घटनापछि स्थानीय बासिन्दा आक्रोशित भएका थिए। उनीहरूले आरोपितलाई नियन्त्रणमा लिई कुटपिट गरेपछि प्रहरीलाई बुझाएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमले घाइते आरोपितलाई प्रारम्भिक उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको र अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको जानकारी दिए। प्रहरी निरीक्षक राजेश कुमार खत्रीको नेतृत्वमा क्षेत्रीय प्रहरी कार्यालय लक्ष्मीनियाबाट टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार हत्याको कारण खुल्न सकेको छैन र अनुसन्धान जारी छ।