दोहा, कतार । नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारीको पीडा, बाध्यता र युवा अवस्थाको क्षतिलाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको मार्मिक गीत ‘परदेशैले’ सार्वजनिक भएको छ। नयन शर्मा अफिसियल युट्युब च्यानलमार्फत रिलिज हुन लागेको यस गीतले अरबको खाडीलगायत विदेशमा पसिना बगाइरहेका लाखौँ नेपाली युवाहरूको प्रतिनिधि आवाज बोलेको छ।
आठ प्रखर गायक–गायिकाको सामूहिक स्वरमा गाइएको यस गीतमा नारायण देवकोटा, बाबु कौशल, कृष्ण दर्लामी, नयन शर्मा, रेश्मा सेन्चुरी, गुना मगर, लक्ष्मी कार्की र गंगा बी.सी. को आवाज सुन्न सकिन्छ। गीतको शब्द र संगीत सिर्जना स्वयं नयन शर्माले गरेका हुन् भने संगीत संयोजन (अरेन्ज) सुनील परियारले गरेका छन्।
गीतले विशेष गरी ५० डिग्रीको चर्को घाममा तालु सेकाउँदै काम गर्नुपर्ने खाडी मुलुकका श्रमिकहरूको कठिन दैनिकीलाई चित्रण गरेको छ। “परदेशैले खायो मेरो बैँस उमेर” भन्दै आफ्नो ऊर्जावान् समय र जवानी परदेशको माटोमा रित्तिएको भाव गीतमा अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। घरको जिम्मेवारी र गरिबीका कारण मुलुक छोड्न विवश भएका श्रमिकहरूको उदाहरण दिँदै गीतले बाहिरबाट सुगठित देखिए पनि भित्रभित्रै रोगले थलिएको शरीर र फाटेको मनको कथा उधिनेको छ।
गीतको अन्त्यतिर गरिबी र बाध्यताले गर्दा घर छोड्न विवश भएका नेपालीहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी फिर्ता ल्याउन नयाँ सरकारसँग भावुक अपिल गरिएको छ। “फर्काइदेउ न सरकार परदेश भाकालाई” भन्ने बोलमार्फत श्रमिकहरूको घर फर्कने तीव्र चाहनालाई व्यक्त गरिएको छ।
भिडियो निर्देशन कृष्ण सेन्चुरीले गरेका हुन्। भिडियोमा कृष्ण ढकाल, करिश्मा बास्तोला (बास्तकोटी), पुकार थापा, पुरन सिंह, जमुना बी.सी. र सुस्मिता विश्वकर्माको जीवन्त अभिनय देख्न सकिन्छ। जनक लाफा मगरको कोरियोग्राफी र सुनिल सुन्दासको छायाङ्कन तथा सम्पादनले भिडियोलाई थप प्रभावकारी बनाएको छ। कलर ग्रेडिंग राबिन बीकेले गरेका छन्।
मालाश्री (काठमाडौँ) र संगीत महल (कतार) मा रेकर्ड गरिएको यस गीतको रेकर्डिस्ट निराज थापा हुन् भने मिक्सिङ र मास्टरिङ खडक बजुरालीले गरेका छन्। वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभावलाई उजागर गर्ने यो गीतले दर्शक र श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीत नयन शर्मा अफिसियल युट्युब च्यानलमा रिलिज भइसकेको छ।

