काठमाडौं उपत्यकामा द्रुत सहरीकरण, अव्यवस्थित पूर्वाधार र हरित क्षेत्रको क्षयीकरणले सहरी ताप टापु (यूएचआई) को समस्या बढाइरहेको छ। यसले गर्मीको समयमा सहरको वातावरण झन् असहयोगी बन्दै गएको छ। विशेषज्ञहरूका अनुसार यो समस्या जलवायु परिवर्तनसँग जोडिएको छ, तर उपयुक्त योजना र नीतिगत हस्तक्षेपले नियन्त्रण सम्भव छ।
हालैको एक अध्ययनअनुसार, सहरको भित्री भाग रिङरोडभित्र १ देखि ४ डिग्री सेल्सियससम्म बढी तातो रहेको छ। यद्यपि यस वर्ष अग्रिम वर्षाले गर्मी केही नियन्त्रणमा रहेको थियो, तर सहरी भागको तापक्रम बाहिरी क्षेत्रको तुलनामा उच्च छ। पछिल्लो ३० वर्षमा उपत्यकामा भौतिक संरचना चार गुणा बढेको छ, जसले करिब १०० वर्ग किलोमिटर वनस्पति र कृषि भूमि नष्ट भएको छ।
जनघनत्व र पूर्वाधारको चाप
सहरीकरणको दबाबसँगै जनघनत्व पनि तीव्र रूपमा बढेको छ। सन् १९९१ मा प्रतिवर्ग किलोमिटर ८,४८० जना रहेकोमा सन् २०२१ मा यो बढेर १७,४४० पुगेको छ। सहरको क्षेत्रफल पनि ५० वर्षमा झन्डै २.५ गुणा विस्तार भएर सन् २०२५/२६ मा ४९.४५ वर्ग किलोमिटर पुगेको छ। यसले कंक्रिट संरचना, सवारीसाधन र उर्जाको खपत बढाएको छ, जसले गर्दा प्राकृतिक शीतलीकरण क्षमता घट्दै गएको छ।
समाधानका उपाय
यूएचआईको प्रभाव कम गर्न युरोप र अमेरिकामा हरित पूर्वाधार, प्रतिबिम्बित सामग्री, जल-संवेदनशील डिजाइन र बलियो नीतिगत ढाँचा लागू गरिएको छ। काठमाडौंमा पनि समुदायको नेतृत्वमा रूखरोपण, खुला पार्क, शहरी वन र जलाशयको संरक्षणले स्थानीय तापक्रम ०.८५ देखि १.२ डिग्री सेल्सियससम्म घटाउन सक्छ। तर यी क्षेत्रहरू साँघुरिँदै गएका छन्।
युएन-ह्याबिटाटको सिफारिस अनुसार सहरी भूमिको १५–२० प्रतिशत खुला हरित सार्वजनिक स्थल हुनुपर्छ, तर काठमाडौंले सन् २०३५ सम्म यो हिस्सा ५–७ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। राष्ट्रिय भूमि नीति २०७६ र राष्ट्रिय सहरी नीति २०८१ ले यसमा सहयोग पु¥याउन सक्ने प्रावधान राखेका छन्। परम्परागत नेवारी वास्तुकलामा आंगन र क्रस-भेन्टिलेसनले शीतलीकरणमा मद्दत गर्छ, जसलाई आधुनिक भवनमा समावेश गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
भक्तपुर, कीर्तिपुर र काठमाडौंमा अझै पनि माटोको इँटा, छानामा बगैंचा, हरित नदी किनार, पोखरीको पुनरुत्थानजस्ता उपाय प्रचलनमा छन्। तर यी प्रयासहरू थप प्रभावकारी बनाउन नीतिगत एकीकरण र कार्यान्वयन आवश्यक रहेको विज्ञहरू बताउँछन्। जलवायु परिवर्तन अपरिवर्तनीय भए पनि सहरी ताप टापुको प्रभावलाई नियन्त्रण गर्न सकिने सम्भावना रहेको छ।
