रुसको प्रमुख आन्तरिक सुरक्षा एजेन्सी एफएसबीले बुधबार टेलिग्राम म्यासेजिङ एपका संस्थापक पाभेल दुरोभलाई 'आतङ्कवादमा सहयोग' गरेको आरोपमा मुद्दा चलाई अन्तर्राष्ट्रिय वान्टेड सूचीमा राखेको छ।
एफएसबीले एक विज्ञप्तिमा भनेको छ, टेलिग्रामको प्रशासनले 'युक्रेनी गुप्तचर एजेन्सी, आतङ्कवादी तथा चरमपन्थी संगठनहरूद्वारा सक्रिय रूपमा प्रयोग भइरहेका असंख्य च्यानल, च्याट र बट' हटाएको छैन। यी माध्यमहरू रुसमा तोडफोड, आतङ्कवाद, सामूहिक हत्या र साइबर धोखाधडीको योजना तथा समन्वय गर्न प्रयोग भइरहेको एजेन्सीको दाबी छ।
दुरोभविरुद्धको यो कारबाही त्यस्तो बेला आएको हो जब रुसले टेलिग्रामलाई प्रतिबन्ध लगाउँदै आएको छ, जुन देशको सबैभन्दा लोकप्रिय म्यासेजिङ एपमध्ये एक हो। दुरोभले यस वर्षको सुरुमा रुसी अधिकारीहरूले उनीविरुद्ध फौजदारी अनुसन्धान सुरु गरेको घोषणा गर्दै निजता र स्वतन्त्र अभिव्यक्तिको अधिकारलाई दबाउन टेलिग्राममाथि प्रतिबन्धको बहाना बनाइएको आरोप लगाएका थिए।
