बेलायत प्रवेश गर्ने चिनियाँ नागरिकलाई बेलायती सीमा सुरक्षा अधिकारीहरूले घण्टौँसम्म हिरासतमा राखेर सोधपुछ गर्ने र मोबाइल फोनलगायत विद्युतीय उपकरण जफत गर्ने घटना बढेपछि चीनले बेलायत सरकारसमक्ष औपचारिक विरोध जनाएको छ। बेलायतस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै यस्तो व्यवहारप्रति आपत्ति दर्ता गराएको हो।
दूतावासका अनुसार व्यापारिक प्रतिनिधिमण्डलका सदस्य, पर्यटक तथा आफन्त भेट्न बेलायत पुगेका चिनियाँ नागरिकलाई सीमामा अनावश्यक ढिलाइ गराइने, लामो समयसम्म सोधपुछ गरिने र उनीहरूका मोबाइल तथा अन्य विद्युतीय उपकरण जफत गरिने क्रम देखिएको छ। यसले चिनियाँ नागरिकको सामान्य यात्रा र गोपनीयतामा असर पारेको दूतावासको भनाइ छ।
बेलायती सीमा अधिकारीहरूले आफ्नो कदमलाई ‘काउन्टर टेररिजम एन्ड बोर्डर सेक्युरिटी एक्ट २०१९’ को प्रावधानभित्र पर्ने भनी प्रतिरक्षा गरेका छन्। तर दूतावासले भने यस्तो व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै चिनियाँ नागरिकमाथि हुने स्वेच्छाचारी नियन्त्रण र सोधपुछ बन्द गर्न बेलायतमाथि निरन्तर दबाब दिइरहने जनाएको छ। विज्ञप्तिमा चीनले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको उल्लेख छ।
दूतावासले बेलायत जाने चिनियाँ नागरिकलाई आफ्नो व्यक्तिगत सम्पत्ति र गोपनीयताको संरक्षण गर्न, बेलायती कानुनबारे जानकार रहन तथा आवश्यक परे कूटनीतिक सहयोग लिन पनि आग्रह गरेको छ।
यसअघि गत डिसेम्बरमा पनि दूतावासले यस्तै सतर्कता जारी गरेको थियो। त्यतिबेला बेलायती अधिकारीहरूले आतंकवादविरोधी कानुनको प्रयोग गरी मोबाइल, कम्प्युटर र स्मार्टवाचजस्ता उपकरण जफत गर्न सक्ने भन्दै चिनियाँ नागरिकलाई सचेत गराइएको थियो।
एमआई–फाइभ प्रतिवेदनपछि चर्कियो विवाद
बेलायती गुप्तचर संस्था एमआई–फाइभका महानिर्देशक केन म्याकलमले वार्षिक सुरक्षा प्रतिवेदनमार्फत चीनमाथि जासुसी र हस्तक्षेपको आरोप लगाएको करिब एक सातापछि यो विवाद सार्वजनिक भएको हो। उनले चिनियाँ गुप्तचर संस्थाहरूले बेलायतका विश्वविद्यालय र अनुसन्धान संस्थामा कृत्रिम बौद्धिकता (एआई) तथा साइबर सुरक्षाजस्ता संवेदनशील प्रविधि हात पार्न नक्कली अनुसन्धान संस्था प्रयोग गरिरहेको आरोप लगाएका थिए।
चिनियाँ दूतावासले भने ती आरोपलाई ‘मनगढन्ते र दुर्भावनापूर्ण भ्रामक प्रचार’ भन्दै अस्वीकार गरेको छ। आफ्नो देशले अन्य राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गरेको र बेलायतको आन्तरिक विषयमा कुनै चासो नरहेको दूतावासले स्पष्ट पारेको छ।
एकातिर बेलायतले चीनमाथि जासुसी र हस्तक्षेपको आरोप लगाइरहेको छ भने अर्कोतिर चीनले आफ्ना नागरिकमाथि बेलायती अधिकारीहरूले गरेको व्यवहारको विरोध गरिरहेको छ। यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप तनाव ल्याएको छ।







