सप्तरीको बोदेबरसाईन नगरपालिकामा सार्वजनिक शान्ति र सुरक्षा व्यवस्था कायम राख्ने उद्देश्यसहित अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो।
जिल्ला सुरक्षा समिति सप्तरीको बैठकले गरेको निर्णयपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यू क्षेत्र
बोदेबरसाईन नगरपालिकाको पूर्वतर्फ हुलाकी राजमार्गस्थित खडक पुलदेखि पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेंगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्र कर्फ्यूको दायरामा परेको प्रशासनले बताएको छ। यी स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
चेतावनी र आग्रह
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यू आदेशको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
