आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर कांग्रेसले मंसिर महिनाभर ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको १५औं महाधिवेशन सम्पन्न भएपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले यस अभियानलाई स्थानीय तहसम्म पुर्याउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
महामन्त्री पौडेलका अनुसार अभियानले निर्वाचनको तयारीसँगै प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह, राष्ट्रिय समस्याको समाधान, आपसी समन्वयमा आधारित राजनीति र संविधान कार्यान्वयनको प्रक्रियामा सहकार्यजस्ता विषय उठान गर्नेछ। यी सबै राष्ट्रिय आवश्यकताका मुद्दामा पार्टी तयार रहेको सन्देश दिन अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ।
७५३ पालिकासम्म पुर्याइने
अभियान देशका सबै ७५३ पालिकामा लगिने पार्टीको तयारी छ। यसलाई राजनीतिक अभियानका रूपमा अघि बढाउँदै सामाजिक अभियानसँग पनि जोडिने महामन्त्री पौडेलले बताए। जलवायु परिवर्तनको विषयलाई समेत जागरण अभियानका रूपमा यसमा समेटिने उनले जनाए।
पार्टीका अनुसार अभियानको केन्द्रबिन्दु प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने, प्रदेश र स्थानीय तहका सरकारलाई जनमुखी कार्यक्रमतर्फ उन्मुख गराउने, पार्टी संगठनलाई सामाजिक अभियानसँग जोड्ने तथा पार्टीका प्राथमिकताहरू स्पष्ट पार्ने विषय हुनेछन्।







