मुख्य सामग्रीमा जानुहोस्

ब्रोड पिक हिमपहिरोः १० आरोही बेपत्ता, नेपाल र पाकिस्तानबीच उद्धार समन्वय जारी

पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएपछि १० आरोही सम्पर्कविहीन भएका छन्। परराष्ट्र मन्त्रालयले खोजी तथा उद्धारका लागि पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको बताएको छ। निर्मल पुर्जा नेतृत्वको टोलीमा छ जना…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

परराष्ट्र मन्त्रालयले पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएपछि बेपत्ता भएका आरोहीको खोजी तथा उद्धारका लागि पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ।

पाकिस्तानसँग समन्वय

विज्ञप्तिअनुसार, इस्लामावादस्थित नेपाली दूतावास पाकिस्तान सरकार र अल्पाइन क्लब अफ पाकिस्तानसँग निरन्तर सम्पर्कमा छ। सबै प्रभावित आरोहीको सुरक्षित र छिटो उद्धारका लागि दूतावासले आवश्यक पहल गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ। पाकिस्तानी पक्षले खोजी तथा उद्धारका काम भइरहेको जानकारी गराउँदै सम्पर्कविहीन आरोहीको पत्ता लगाउन सबै उपलब्ध स्रोत र साधन परिचालन गरिने आश्वासन दिएको छ।

१० सदस्यीय अन्तर्राष्ट्रिय टोली

दूतावासले प्राप्त गरेको जानकारीअनुसार, चर्चित नेपाली आरोही निर्मल पुर्जा 'निम्स दाइ'को नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा छ जना नेपाली सहभागी छन्। तीमध्ये पूर्ण बहादुर गुरुङ 'युक्ता', किली पेम्बा शेर्पा 'किलु', निमा शेर्पा, नेवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा र पुर्जा आफैं रहेका छन्।

यस्तै टोलीमा ओमानकी नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहिल साखी, चीनका वाङ झोङ र संयुक्त राज्य अमेरिकाकी म्यालोरी गेइस पनि छन्।

खोज तथा उद्धार जारी

बिहीबार चुचुरोतर्फको आरोहणका क्रममा हिमपहिरो गएको थियो, जसका कारण टोलीका सबै १० आरोही सम्पर्कविहीन भएका थिए। घटनापछि हेलिकप्टर र जमिनबाट उद्धारकर्मीले खोजी जारी राखेका छन्। मौसम र अपरेसनल अवस्थाअनुसार उद्धारका प्रयासलाई निरन्तरता दिइएको मन्त्रालयले बताएको छ।