सुनसरीको घटनाले मधेश प्रदेशभर तनाव फैलाएको छ। शुक्रबार आठवटै जिल्लाका विभिन्न स्थानमा हिन्दुवादी संघ–संगठनहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार छिटफुट सामान्य घटनाबाहेक कुनै ठूलो अप्रिय घटना भएको छैन।
मधेशको राजधानी जनकपुरधाममा बिहीबार दिउँसो साढे तीन बजेदेखि लगाइएको कर्फ्यू अहिलेसम्म कायम छ। चारवटै सुरक्षा निकाय सडकमा परिचालित छन्। कामविशेष बाहिर निस्केका केही नागरिकलाई नेपाली सेना र प्रहरीले कान समातेर उठबस गराउने, कसरत गराउनेजस्ता कार्य गरेका छन्। जनकपुरधामका उद्योग, बजार तथा व्यवसाय पूर्ण रूपमा बन्द छन् र यसको प्रभाव धनुषा जिल्लाभर देखिएको छ।
कर्फ्यू लागू भएका क्षेत्र
सिरहाको गोलबजार र लहानमा कर्फ्यू जारी छ। सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा पनि कर्फ्यू लागू गरिएको छ। बोदेबरसाइनमा बिहीबार राति १० बजेदेखि र राजविराजमा शुक्रबार बिहान ८ बजेदेखि कर्फ्यू आदेश जारी छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार अर्को आदेश नभएसम्म राजविराज क्षेत्रमा कर्फ्यू लागू रहनेछ। वीरगञ्जमा भने पुनः निषेधाज्ञा जारी गरिएको छ।
प्रदर्शन बिहानैदेखि सप्तरीको राजविराज, सिरहाको गोलबजार र लहान, धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मलंगवा र बरहथवा, रौतहट, बारा तथा पर्साको वीरगञ्जमा भएको थियो।
घटनापछिको तनाव र प्रशासनको प्रयास
सिरहामा बिहीबार प्रहरीको गोली लागेर १६ वर्षीय किशोर गणेश यादवको मृत्यु भएपछि अवस्था झन् उग्र बनेको छ। औरही गाउँपालिका–२ तुलसियाहीका यादवको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेर परिवारलाई भेटेको थियो। सांसद यादवले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संसद् र सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
गृहमन्त्री सुधन गुरुङ मृतक परिवारलाई भेट्न आउने भन्ने खबर फैलिएपछि स्थानीयले प्रदर्शन चर्काएका थिए। तर गृहमन्त्री अहिलेसम्म मृतकको घर पुग्न सकेका छैनन्।
यसैबीच सिरहाको मिर्चैयामा शुक्रबार सामाजिक सद्भाव र्याली निकालिएको छ। सर्वदलीय बैठकपछि निकालिएको र्यालीमा ‘हिन्दु–मुस्लिम एक हौं, बौद्ध, सिख–इसाई आपसमा भाइ–भाइ’ भन्ने नारा लगाउँदै सहरका विभिन्न चोकको परिक्रमा गरिएको थियो। महोत्तरी प्रशासनले पनि सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएर स्थिति सहज बनाउने विषयमा छलफल गरेको छ।
जनकपुरधाममा जारी कर्फ्यू हटाउने विषयमा धनुषा प्रशासनले सर्वपक्षीय छलफल गरी चारबुँदे निर्णय गरेको छ। प्रशासनले भोलि बिहान सद्भाव र्याली निकाल्ने र त्यसपछि कर्फ्यू हटाउने तयारी गरेको छ। प्रतिनिधिसभा सदस्य, सुरक्षा निकाय, दुवै समुदायका धर्मगुरु तथा हिन्दु संघ–संगठनसहितको बैठकले शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताएका छन्।
सामाजिक सञ्जाल नियमन र पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग तथा घृणा र उत्तेजनात्मक सामग्रीले सामाजिक सद्भावमा असर पुर्याएको निष्कर्ष निकाल्दै प्रहरी प्रशासनले त्यसको नियमन गर्ने नीति लिएको छ। द्वेष फैलाउने र अराजक गतिविधि गरी सामाजिक सद्भाव खल्बल्याउने व्यक्तिलाई पक्राउ गर्न थालिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंहका अनुसार शुक्रबार मात्रै प्रदेशका विभिन्न जिल्लाबाट ३८ जनालाई नियन्त्रणमा लिइएको छ। धनुषाबाट २१, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विभिन्न संघ–संस्थाले धार्मिक सहिष्णुता र सद्भाव कायम गर्न जोड दिइरहेका छन्। पार्टीको निर्देशनपछि रास्वपाका सांसदहरू अवस्था सहज बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका छन्।
