मौसम प्रतिकूल हुने पूर्वानुमानपछि मुस्ताङका अधिकारीहरूले अक्टोबर २९ देखि ३१ तारिखसम्म उच्च हिमाली भेगमा पदयात्रा तथा भ्रमण नगर्न पर्यटक र पदयात्रीहरूलाई आग्रह गरेका छन्। भारी हिमपात, हिमपहिरो, पहिरो र यातायात अवरोधको जोखिम बढेको भन्दै सतर्कता अपनाउन भनिएको हो।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमान्थाङ गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा, चट्याङ, हावाहुरी तथा तीव्र हावा चल्न सक्ने जनाएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरो जान सक्ने सम्भावना रहेकाले पदयात्री तथा अन्य यात्रुको सुरक्षामा चासो व्यक्त गरिएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले तापक्रम घट्दै गएको, पहिरो जान सक्ने तथा मौसम प्रतिकूल हुँदा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सावधानी आवश्यक रहेको बताएका छन्।
कोरला नाकातर्फ यात्रा रोक्न आग्रह
लोमान्थाङ गाउँपालिकाले कोरला नाका र आसपासका क्षेत्रमा जोखिम बढेको चेतावनी दिएको छ। गाउँपालिका अध्यक्ष तासी न्हार्बु गुरुङले हिमपातका कारण सडक चिप्लो हुने, सवारी दुर्घटनाको जोखिम बढ्ने र सडक अवरुद्ध हुन सक्ने भन्दै यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई नाकातर्फ यात्रा नगर्न आग्रह गरेका छन्।
मौसममा सुधार नभएसम्म कोरला नाकातर्फको यात्रा तथा सवारी आवागमन स्थगित गर्न पनि स्थानीय सरकारले सुझाएको छ। मुस्ताङको उच्च भेग घुम्ने योजना बनाएकाहरूलाई जोखिमपूर्ण मौसम र यातायात अवस्थामा यात्रा नगर्न तथा जारी चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरिएको छ।







