साउन १५, काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि सामाजिक सद्भाव कायम राख्न राज्यका तर्फबाट भन्दा रास्वपा सभापति रवि लामिछानेको पहल बढी देखिएको छ। सरोकारवाला पक्षसँग उनले निरन्तर संवाद गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उनकै शैली पछ्याउँदै ढिलो गरी छलफलमा होमिएका छन्।
पछिल्लो घटनामा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तदारुकता नदेखिएको भन्दै बालेनमाथि प्रश्न उठेपछि मात्र उनी संवादमा आएका हुन्। साउन १० मा सुनसरीमा भएको घटनाबारे सार्वजनिक रूपमा बोल्नसमेत उनी लामिछानेभन्दा ढिलो देखिए। दुई पक्षबीचको विवाद बढ्दै गएपछि रास्वपाले साउन १२ मा विज्ञप्ति जारी गरेको थियो।
रविको पहल, बालेन ढिलो
रास्वपाको विज्ञप्तिमा हिंसा र मुठभेडले समस्या समाधान नहुने मान्यता रहेको बताइएको छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य नै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सद्भाव भएको भन्दै साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न नगराउन सबैमा अपिल गरिएको छ।
विज्ञप्ति आएकै दिन मध्यराततिर प्रधानमन्त्री बालेन सामाजिक सञ्जालमा देखिए। उनले मान्छे जोगाउनु पहिलो धर्म भएको र सरकारको पहिलो कर्तव्य नागरिकलाई सुरक्षित बनाउनु, कसुरदारमाथि कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति दिनु भएको बताए। यी काम सरकारले यथाशक्य चाँडो गर्ने उनको भनाइ थियो।
तर, प्रधानमन्त्री सामाजिक सञ्जालमा मात्रै देखिए र सरोकारवाला पक्षसँग संवाद नगरेको भन्दै आलोचना भयो। विगतमा संकटका बेला प्रधानमन्त्रीको अगुवाइमा सर्वदलीय बैठक बस्ने गरेको थियो। यसपटक बालेनले सर्वदलीय बैठक नबोलाएपछि रास्वपा सभापति लामिछानेले बुधबार बिहान प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरी छलफल गरे।
उक्त पहलकदमीप्रति दलका नेताहरूले खुलेर स्वागत गरे पनि प्रधानमन्त्रीको भूमिकामा भने प्रश्न उठाए। कांग्रेस सभापति गगन थापाले संकटका बेला प्रधानमन्त्री मौन बस्नु नहुने भन्दै सबै पक्षसँग सम्पर्क गर्ने, सबैलाई जोड्ने र सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग भेट्नुपर्ने र प्रदेश तथा स्थानीय सरकारसँग संवाद गर्नुपर्ने उल्लेख गरे।
सुनसरी र सिरहामा तनाव
सर्वदलीय बैठक आह्वानअघि नै लामिछानेले गृहमन्त्री सुधन गुरुङसँग हिंसात्मक घटनाबारे कुराकानी गरिसकेका थिए। दलका नेताहरूले राष्ट्रपति भेट्न प्रधानमन्त्रीलाई सुझाव दिए पनि त्योभन्दा अघि लामिछाने शितलनिवास पुगेका थिए। बुधबार मध्यान्ह उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो घटनाक्रम र सर्वदलीय छलफलका विषय जानकारी गराए।
बुधबार कोशी र मधेसमा तुलनात्मक रूपमा शान्ति रहे पनि बिहीबार सिरहाको गोलबजार अशान्त बन्यो। कर्फ्यू जारी रहेकै बेला सिरहा र जनकपुरमा प्रदर्शन भयो। सुनसरीको कप्तानगञ्जमा घाइते भएका जयप्रकाश मेहताको बुधबार उपचारका क्रममा ज्यान गयो। सिरहाको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर गणेश यादवको पनि बुधबार नै मृत्यु भयो।
मधेसमा प्रदर्शन बढेलगत्तै लामिछानेले विभिन्न पक्षसँगको छलफल तीव्र पारे। बिहीबार उनले कोशी र मधेसका रास्वपा सांसदहरूसँग छलफल गरी आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिए। सांसद रहबर अन्सारीका अनुसार सभापतिले गाउँटोलसम्म सद्भावको सन्देश पुर्याउन र द्वेष फैलाउने बाहिरी तत्वलाई मत्थर पार्न सबै सांसदको भूमिका रहनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।
राष्ट्रपति र उपराष्ट्रपतिसम्म संवाद
लामिछानेले बिहीबार राति मधेसवादी दलका नेताहरूलाई बोलाएर संकटबारे छलफल गरे। पार्टीका शीर्ष नेताहरूलाई साथै राखेर उनले मधेस केन्द्रित दलका आधा दर्जन बढी नेतासँग संवाद गरे। यसैबीच प्रधानमन्त्री बालेनले बिहीबार दिउँसो मात्रै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाए। बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वय थप प्रभावकारी बनाउने निर्णय गर्यो।
बिहीबार मधेसका जिल्लाहरूमा तनाव बढेपछि प्रधानमन्त्री थप खोजीमा परे। उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरे र त्यही रात राष्ट्रपति पौडेललाई भेट्न शितलनिवास पुगे। लामिछानेले राष्ट्रपतिलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको एक दिनपछि बालेन शितलनिवास पुगेका हुन्। करिब १५ मिनेटको भेटमा राष्ट्रपति पौडेलले सबै पक्षलाई साथमा लिएर संयमपूर्वक स्थिति साम्य पार्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। सोही रात प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग फोनमा कुराकानी गरे।
मधेस केन्द्रित दल र सांसदसँग छलफल
लामिछानेले छलफल गरेको एक दिनपछि प्रधानमन्त्री शाहले शुक्रबार मधेस केन्द्रित दलका नेताहरूलाई सिंहदरबार बोलाएर संवाद गरे। छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत सहभागी थिए। रास्वपाका सांसद अमरेशकुमार सिंह पनि उपस्थित थिए। नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्रीलाई सुझाव दिए। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सम्झौता भइसकेकाले त्यसलाई रद्दीको टोकरीमा नफाल्न र विगतका सरकारले जस्तो नगर्न आग्रह गरे। प्रधानमन्त्री शाहले संघीयताका विषयमा आफूमाथि अविश्वास नगर्न आग्रह गरे।
मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नै दलका सांसदहरूलाई भने प्रधानमन्त्री शाहले लामिछानेभन्दा एक दिनपछि मात्रै छलफलका लागि बोलाएका छन्। मनिष झा, मोहनलाल आचार्य, रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा र जाला शमिम मिकरानीलगायत सांसद सहभागी थिए। छलफलमा हिंसा भड्किन नदिनुपर्ने र मिथ्या सूचनाको प्रवाह रोक्नुपर्ने विषयमा विचार विमर्श भएको सांसद मोहनलाल आचार्यले जानकारी दिए। उनका अनुसार स्थिति नियन्त्रणमा आउँदै गरेको बुझाइ छ र सामाजिक सञ्जालमा फैलिएका अफवाह हटाउनेबारे छलफल भएको छ।
राष्ट्रपति, उपराष्ट्रपति, मधेस केन्द्रित दलका नेता र मधेसबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरूसँग प्रधानमन्त्री शाहले छलफल गरे पनि उनले सर्वदलीय बैठक भने बोलाएका छैनन्।
