वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। उनीहरूले आकर्षक कमाइ हुने प्रलोभन देखाएर विदेश पठाइदिने भन्दै रकम लिएको बताइएको छ।
शंखमूल बस्ने रिगबान शेष
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष छन्। उनले एक व्यक्तिलाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
कञ्चनपुरका नवराज भट्ट पनि पक्राउ
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन्। उनमाथि एक जनालाई क्रोसिया पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
प्रहरीले दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइसकेको जनाएको छ।
