गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आचार्यले भ्रष्टाचार गरेको ठहर गर्दै सोही बराबरको बिगो कायम गर्न माग गरेको छ।
आयोगका अनुसार आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्। सार्वजनिक पदमा रहेको अवधिभर उनको र परिवारको आम्दानीभन्दा खर्च तथा लगानी उल्लेख्य बढी देखिएपछि आयोगले यो निष्कर्ष निकालेको हो।
अनुसन्धानका क्रममा आयोगले आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवका रूपमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि २०८० मङ्सिर २१ गतेसम्मको अवधि केलाएको थियो। सो अवधिमा आचार्य र उनको एकाघर तथा सगोलमा रहेका व्यक्तिले ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैध आय गरेको देखिन्छ। तर त्यही अवधिमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ बराबरको खर्च तथा लगानी भएको आयोगको भनाइ छ।
परिवारका सदस्य र अन्य दुई जनाविरुद्ध पनि मागदाबी
आयोगले आचार्यकी श्रीमती ललिता राजभण्डारी, छोरीहरू निलु आचार्य र सरु आचार्यविरुद्ध समान बिगो बराबरको मागदाबी गरेको छ। यसैगरी भक्तपुरको मध्यपुरथिमि–२ की प्रभा बस्नेत र काठमाडौंको पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बराबरको बिगो माग गरिएको छ।
भ्रष्टाचारको मुद्दासँगै आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुरमा छुट्टै मुद्दा दायर गरेको जनाएको छ।







