सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को इ-सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याएर विभिन्न ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसँग सम्बन्धित कागजातमा परिवर्तन गरिएको आरोप उनीहरूमाथि छ। पक्राउ परेका व्यक्तिहरूको परिचय भने प्रहरीले खुलाएको छैन।
ब्युरोमा परेको निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उनीहरूको संलग्नता देखिएपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको प्रवक्ता अवस्थीले जानकारी दिए।
पक्राउ परेकाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको उनले बताए।







