नेपाल राष्ट्र बैंकले आगामी एक महिनाका लागि ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिने निक्षेप सङ्कलन उपकरणका लागि बोलकबोल आह्वान गरेको हो।
शुक्रबार सार्वजनिक सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल गर्नुपर्नेछ।
बोलकबोल र बाँडफाँटको व्यवस्था
बोलकबोलको नतिजाबाट तय हुने ब्याजदरका आधारमा निक्षेप जम्मा गरिनेछ भने साँवा र ब्याजको भुक्तानी भदौ २२ गते हुनेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर उल्लेख भएका बोललाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरका बोलबाट कुल निष्कासित रकमभन्दा बढी माग परे प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।
न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ।
सहभागिता र भुक्तानी प्रक्रिया
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा भाग लिन पाउनेछन्। बोल गर्दा जम्मा गर्न चाहेको रकम र ब्याजदरसमेत उल्लेख गर्नुपर्ने हुन्छ।
स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइनेछ र सङ्कलित निक्षेपका लागि छुट्टै खाता खोलेर जम्मा गरिनेछ। भुक्तानी मितिमा निर्धारित ब्याजसहित सो रकम बैंकको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ।
उक्त निक्षेप रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन। यद्यपि, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। सङ्कलित निक्षेप भुक्तानी मितिभन्दा अघि फिर्ता गर्ने वा प्रि–म्याच्योर भुक्तानी गर्ने सुविधा भने हुने छैन।


